काठमाडौँ । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् । निर्माणको सिजनमा मूल्य बढेको भन्दै उनीहरू आन्दोलनको तयारीमा छन् । निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा २०० रुपैयाँभन्दा धेरै बढेको छ । अहिले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ पुगेको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट विश्लेषण गर्ने क्रममा अधिकांश ठाउँमा सिमेन्टको मूल्य पीपीसीको प्रतिबोरा ४०० रुपैयाँ र ओपीसीको ५०० रुपैयाँ मूल्य कायम थियो । अधिकांश आयोजना सोही मूल्यअनुसार ठेक्का लागेर निर्माणको क्रममा छन् ।
पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ्दा आफू मर्कामा परेको निर्माण व्यवसायी बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्य बढेपछि उद्योग मन्त्रालयमा भएको छलफलमा सरकार र उद्योगीबिच मूल्य घटाउन सहमति भएको बताए । तर उद्योगीहरूले सहमतिअनुसार मूल्य कायम नगरेको सिंहको भनाइ छ ।सिमेन्ट उद्योगीले गत मंसिरदेखि सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँभन्दा माथि मूल्य वृद्धि गरेका थिए । सोही बेला अत्यावश्यक निर्माण सामग्री फलामे छडको पनि मूल्य वृद्धि भएको थियो । निर्माणको सीजनमा निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाए ।
यसपछि मंसिर २७ गते उद्योगमन्त्री, वाणिज्य विभागका महानिर्देशक, सचिवहरू लगायत र सिमेन्ट उद्योगीबिच छलफल भएको थियो । उक्त छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाइ छ ।सिंहका अनुसार मन्त्रालयमा भएको छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएको सिंहको गुनासो छ ।उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी मन्त्रालयले सिमेन्ट उत्पादक संघलाई बोलाएर छलफल गरेको तर मूल्य निर्धारणको सहमति नभएको बताउँछन् ।‘छलफल भएको हो तर व्यवसायीले भनेजस्तो मूल्य तोकेको छैन,’ अधिकारीले भने, ‘छलफलमा बरु मूल्य बढाउनको कारण सोधिएको थियो ।’