बिर्तामोड । बिर्तामोड नगरपालिकामा २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा आर्थिक कारोबार ठप्प भएको छ । नगरको बर्षे अधिवेसन सकिन केही दिन मात्र बाँकी छ । अहिलेसम्म बिर्तामोड नगरपालिकाले कुनैपनि बिकास निर्माणमा भुक्तानी गर्न सकेको छैन । जसको प्रभाव यस बर्षको बिकास निर्माणको काम समयमै सम्पन्न हुनेमा चुनौती थपिएको छ ।

बिर्तामोड नगपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच मतभेद रहेकै कारण प्रमुख प्रशासकीय अभिकृत राधाकृष्ण खतिवडा सरुवा मिलाएर गएको कर्मचारीहरु बताउँछन् । चैत्र १ गते बिर्तामोड नगरपालिकामा हाजिर भएका खतिवडाले सरुवा मिलाएर असोज पहिलो साता यहाँबाट बिदा भएका छन् । उनी ६ महिनामात्र बिर्तामोडमा टिक्न सकेका हुन् । 

प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार नगरमा दुई महिनादेखि १ रुपैया पनि भुक्तानी नहुँदा विकास निर्माणका कुनैपनि काम हुन सकेको छैन । बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत आउने बारे अहिलेसम्म कुनै पनि टुङगो लाग्न नसकेको उनले जानकारी दिए । 

बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत नटिक्नुको कारण बारे पाण्डेले भने–‘अनैतिक आर्थिक लाभ लिन नसकेका कारण प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेका हुन् ।’ बिर्तामोडमा जनप्रतिनिधिले यस कार्यको कडा रुपमा निगरानी गरेको उनको दावी छ । 

नगरका जनप्रतिनिधिलाई समर्थन गर्ने कर्मचारी र अन्य कर्मचारबिच मतभेद उत्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतले बिर्तामोड छोड्ने गरेको पाइएको छ । राजनीतिक नियुक्तिबाट आएका कर्मचारी र पार्टी समर्थित तल्लो तहका कर्मचारीको मनोमानी रहेको त्यही कार्यारत कर्मचारीको गुनासो छ । 

बिर्तामोडमा यसअघि पनि पार्टीसँग बिचार मिल्ने प्रमुख प्रशासकीय अधिकृत ल्याउने प्रयास गरिएको थियो । अब पनि त्यस्तै अधिकृतको खोजीमा जनप्रतिनिधि लागेको नगरकै केही कर्मचारीहरुले जानकारी दिएका छन् । आफ्नो अनुकुल निर्णय गराउन सक्ने अधिकृत ल्याउने प्रयास गर्दा अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत आउन नमानेको जानकारहरु बताउँछन् । 

बिर्तामोडमा केही समयदेखि पार्टीका नेतादेखि जनप्रतिनिधिसम्मले आफ्नो अनुकुलका निर्णय जवरजस्त गराउन खोज्दा कर्मचारीले राजीनामासमेत दिएका छन् । केही अघि यहाँ पार्टीका बिर्तामोड नगर अध्यक्षका सहोदर भाईको स्वामित्वमा रहेको कम्पनीबाट खरीद गरेको सफ्टवेयरको भुक्तानी दिने बिषयमा बिवाद हुँदा सुचना प्रविधि अधिकृत जयराम चम्लागाईँले राजीनामा दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका काम नै लथालिङग बनेको बिर्तामोड नगरपालिका वडा न–२ का अध्यक्ष किशोर पौडेलले बताए । उनले समयमै प्रमुख प्रशासकीय अधिकृत नआएमा चालु आर्थिक बर्षको बिकास निर्माणको काम सम्पन्न गर्न कठिन हुने बताएका छन् ।