काठमाण्डाै – भोलि नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने शुरुआत तीन वटा देशका मन्त्रीले गर्ने भएका छन् ।

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातकाे उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  जानकारी दिनुभयो । ‘भोलि दिउँसो पौने १ बजे भर्चुअल समारोहमार्फत बङ्गलादेशमा बिजुली पठाउने कामको शुरुआत हुँदैछ’, घिसिङले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्दैछ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिनुभएको छ ।