बिर्तामोड । जिल्ला प्रहरी कार्यालयले बिर्तामोड–४ स्थित शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीय वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगिरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अर्जुनधारा–६ का कामीको हनुमान सुन पसल भन्ने रहेको छ । त्यस्तै, महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगिरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो ।

करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको वैशाख २६ गते मातातीर्थ औँशीको दिन हत्या भएको थियो ।

नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।

प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो । एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौंमा बस्दै आएका छन् ।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कूलदक्षिण पुगेपछि अल्मलिएको थियो ।

सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरी टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।