झापाको बिर्तामोड–४ मा बैशाख–२६ गते ६८ बर्षिय विष्णुमाया विष्टको घरमा सुतिरहेको समयमा हत्या भयो । घरमा एक्लै सुतिरहेको समयमा हत्या भएको थियो । हत्या भएको दुई साता बितिसक्दा पनि प्रहरीले हत्याराको सुँइकोसमेत पाउन सकेको छैन ।

jhapa

 जेठ ५ गते बिर्तामोड–१ को बिर्तासिटी हस्पिटल जाने सडकको झाडीमा एउटा शव फेला प¥यो । सडेगलेको अवस्थामा फेला परेको शवको प्रहरीले पहिचानपनि गर्न सकेन । घटनाको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएपनि प्रहरीले यो घटनाको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । 

जेठ–६ गते बिर्तामोड–३ मा ७० बर्षका काशिनाथ गौतमलाई सोही स्थानमा बसोबास गर्ने बरुण धिमालले घरमै बसिरहेको समयमा छुरा प्रहार गरे । शरिरका बिभिन्न भागमा छुरा प्रहार गरेर घाइते भएका गौतमको उपचार भइरहेको छ । छुरा प्रहार गर्ने धिमाल फरार रहेका छन् ।

IMG-20240524-WA0000

    पछिल्लो समयमा यी र यस्ता आपराधिक घटना बिर्तामोडमा बढ्दो क्रममा छन् । बिर्तामोडमा यस्ता आपराधिक घटनाक्रम बढ्दो भएपनि त्यसको अनुुंसन्धानमा प्रहरी गम्भिर भएको देखिदैन । बिशेषगरी घटना भएपछि अनुसंधान गर्नमै प्रहरी अलमलिरहेको छ । 

प्रहरीले माथी उल्लेख गरिएका जस्ता थुप्रै घटनामा अनुसंधान गरिरहेको बताएपनि घटनामा संलग्न धेरै अभियुक्त पक्राउ गर्न सकेको छैन । जसले गर्दा आपराधिक गतिविधिमा संलग्न रहेकाहरुको मनोबल बढेको पाइन्छ । 

बिर्तामोडमा धेरै जसो मानिसहरु अन्य स्थानबाट आएर बस्ने गरेका छन् । उनीहलाई सही परिचय बिना नै बस्न दिदा आपराधिक गतिविधिमा संलग्नको पहिचान हुन सकेको छैन । ब्यापारिक हब बिर्तामोडमा दिन दहाडै मोटरसाइकल चोरी, सिक्री लुटपाट, लागूऔषधको कारोबार र दुलेचोरको बिगबिगी बढेको पाइन्छ । यसका अतिरिक्त बिर्तामोडमा सटर फुटाएर लुटपाट हुने क्रम पनि बढेको छ । प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेपनि अधिकांस आपराधिक कार्यमा संलग्न हरुको पहिचान गर्न प्रहरी असफल हुँदै आएको छ । 

बिर्तामोडमा डिएसपीको कमाण्डमा प्रहरी परिचालन छ । तर, सक्षम नेतृत्व नभएकोले आपराधिक कार्य बढेको स्थानीयको आरोप छ । आपराधिक कार्य रोक्न भन्दै सडकमा सिसी क्यामेरा जडान गरिएको छ । अपराध न्युनिकरणको लागि सिसी क्यामेरा पनि प्रभावकारी हुन नसकेको पाइएको छ । 

प्रहरीले घटना भएपछि अधिकांस अनुसंधानमा कुकुर प्रयोग गर्ने गर्दछ । यहाँ बिगतदेखि हालसम्म भएका घटनामा कुकुरले गरेको अनसंधानबाट अभियुक्त पक्राउ परेका छैनन् । अनुसंधानमा कुकुरको प्रयोग पीडित परिवारलाई आश्वासन दिन मात्र ल्याइएको जस्तो देखिएको छ । 

लागूऔषधको लागि नेपालकै ट्रान्जिटका रुपमा रहेको बिर्तामोडमा प्रत्येक दिन यसका एक न एकजना प्रयोगकर्ता पक्राउ पर्छन् । तर, प्रहरी अझै पनि लागूऔषध कारोबारीको छेउसम्म पुग्न सकेको छैन । लागूऔषधको कारोबार र प्रयोग बढेको कारण आपराधिक घटनामा पनि बृद्धि भएको हो । 

लगभग १५ किलोमिटरमा खुल्ला भारतीय सिमाना हुनु, मिश्रित जनसंख्या बसोबास गर्नु, शहर नजिकै ठुला जंगल हुनु, शहरसँगै जोडिएको स्थानमा ठुलो चिया बगान हुनुले पनि अपराधिक गतिविधि गर्नेलाई सहज हुने गरेको छ । त्यसमा पनि प्रहरी परिचालन कमजोर रहनुले बिर्तामोडमा आपराधिक घटनामा बृद्धि हुँदै गएको छ ।