झापा : पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा२० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ। मेची भन्सार कार्यालयको तथ्यांकनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात ३.४८ प्रतिशतलले कम हुँदा निर्यात भने १०.७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।
गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट ७.२५ प्रतिशत, जिप्सम ६.५७ प्रतिशत, तरकारी १७.८५ प्रतिशत, अलडिड रेजिन ५.६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए। मेसिनरी उपकरण ६६ .१० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० .३४ प्रतिशत र फलाम २२ प्रतिशतले आयात बढेको छ ।
मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार २५३.९७ प्रतिशतले बढ्दा प्लाइउड ५५.३८ प्रतिशत, छुर्पी २९.७९ प्रतिशत, अम्रिसो ३०.१२ प्रतिशत, अदुवा-सुठो २१.६८ प्रतिशतले निर्यात बढेको छ। अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ।
सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०÷८१ मा मेची भन्सार कार्यालयले रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व संकलन गरेको छ ।


























































