फिदिम । पाँचथरको हेवाखोलामा बनाएकाे डाइभर्सन एकैदिनमा बगाएकाे छ । अविरल बर्षापछि आएकाे बाढीले ४ दिन लगाएर निर्माण गरिएकाे डाइभर्सन १२ घण्टापनि सञ्चालन हुन सकेन ।

डाइभर्सन बगाएपछि पुनः मेची राजमार्गमा यातायात अवरुद्ध बनेको छ ।यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएकाे छ ।

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।