बिर्तामोड । बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै बिएण्डसीका प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिए ।

उनका अनुसार १० वटा दर्ता काउन्टरबाट विरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने गिरीको भनाई छ । बिएण्डसीमा रेफर गरेर आएका बिमितहरुले उपाचार पाउने छन्, उनले भने – इमरजेन्सीहरुको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य बीमाबाट उपचार गर्न पाइनेछ ।नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौता बमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन लागेको गिरीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरुलाई औषधी, स्वास्थ्य परीक्षणहरु, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ । बिएण्डसी अस्पतालमा २४ सै घण्टा ईमरजेन्सी सेवा सहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरु रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटि स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिदै आइरहेको मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादवले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्न यस अस्पतालमा, एमडी, एमसीएच, एमएस गरेका वरिष्ट चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरुले सेवा दिने छन् ।

प्रवक्ता गिरीका अनुसार उपचारमा आउने बिरामीहरुको लागि कुरुवा कक्ष, प्रविधिमैत्री वातावरणमा उचार प्रदान गरिनेछ ।