बिर्तामोड । ठुलो कमिसन प्राप्त हुने भएपछि बिर्तामोड नगरपालिकाले केन्द्रबाट आउने कालोपत्रे सडक निर्माणको योजना परिवर्तन गर्दै पेवर्स लगाउने गरेको पाइएको छ । 

नगरले २०८० पुष ६ गते सघन शहरी तथा भवन निर्माण आयोजनासमेतको संयुक्त बैठकले केन्द्रबाट प्राप्त ठुला योजना नै परिवर्तन गरेको हो । स्थानीय उपभोक्तासँग कालोपत्रे गर्ने सम्झौता गरेको नगरपालिकाले पछिल्लो चरणमा योजना परिवर्तन गरी पेवर्स लगाउन थालेपछि उपभोक्ता बिरोधमा उत्रिएका छन् । 

Messenger_creation_a7bd062a-b455-4e2e-b346-25b2284d5080

बिर्तामोडको कनकाई रोड निर्माणका लागि उपभोक्तासँग ४० फुट चौडाई कायम गरेर कालोपत्रे सडक निर्माण गर्ने सहमति नगरपालिकाले गरेको थियो । तर, एक्कासी ३० फुटको सडक कायम गर्ने र सो सडकमा पेवर्स लगाउने निर्णय भएपछि स्थानीयले बिरोध गरेका हुन् । कनकाई रोड भारबहन क्षमता बढी भएका सवारी साधन सञ्चालन हुने सडक हो । त्यस क्षेत्रमा पुर्वकै ठुलो कृषि बजार लगायत व्यवसायिका गोदामहरु रहेका छन् । पेवर्सले तिब्र गतिमा सवारी सञ्चालन हुदा नथाम्ने र निश्चित भारवहन क्षमता भएका सवारी साधनालाई मात्र थेग्न सक्छ । 

प्रतिनिधिसभाका सांसद सरिता प्रसाइको पहलमा २ करोड ३६ लाख २१ हजार ७४२ रुपैंयाँ ४१ पैसामा इलाम स्टेशनबाट सुब्बाचोकसम्म ५९१ मिटर सडक कालोपत्रे र दाँया बाँया ढल निर्माण गर्न बजेट बिनियोजन भएको थियो । पुष ६ गते पेवर्स खरिदमा कमिसन आउने जानकार जनप्रतिनिधि र कर्मचारी र एकजना सञ्चारकर्मी सम्मिलित बैठकले निर्णय परिवर्तन गराएको स्थानीयको आरोप छ । स्थानीय केशव श्रेष्ठका अनुसार कालोपत्रे गर्नुपर्ने सडक आफुहरुसँग कुनै समन्वय नगरी योजना परिवर्तन गरिएको हो । 

त्यस स्थानमा नगरपालिकाले ४० फुटको सडकको मापदण्ड छोडेर मात्र आवास निर्माण गर्नुपर्ने नियम बनाएको छ । अहिले ३० फुटको सडक निर्माण हुँदा स्थानीय आक्रोशित भएको श्रेष्ठको भनाई छ । उनले कमिसनको खेलमा योजना परिवर्तन भएको दावी गरेका छन् । श्रेष्ठले नगरले पूर्वसहमति अनुसार सडक निर्माण नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

‘चैत्र २८ गते नगरपालिकालाई हामीले केन्द्रिय नीति निर्देशन अनुसार सडक निर्माण गर्न आग्रह गर्दै निवेदन दियौं, स्थानीय आषिश गिरीले भने–‘हाम्रो निवेदनमाथी कुनै सुनुवाई भएन ।’ उनले यस बिषयमा जिल्ला प्रशासन कार्यालय भद्रपुर र सघन शहरी तथा भवन निर्माण आयोजना केन्द्रिय कार्यालयलाईसमेत जानकारी गराएको बताए ।   

बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईँले आफु तीन महिनादेखि यही सडकका कारण तनावमा रहेको बताए । ‘बिर्तामोड नगरपालिकाले किन निर्णय परिवर्तन ग¥यो, त्यो मलाई सरोकार भएन, प्रसाईले भने–‘तर म अध्यक्ष रहेको यस वडामा विकास हुनु हाम्रो लागि महत्वपुर्ण छ । निर्णय परिवर्तन भएको बैठकमा म सहभागी नभएको हुनाले त्यसबारेमा खासै जानकारी छैन ।’ उनले बिर्तामोडका भित्री सडक खण्डमा पेवर्स लगाएको हालसम्म सफल भएको दावी पनि गरे । तर, कनकाई रोड व्यस्त र ठुला भारवहन क्षमताको सवारी चल्ने सडक हो । 

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदिप पौडेलले पेवर्स लगाउँदा ५ बर्षसम्म टिक्ने भएका कारण नगरपालिकाले गरेको योजना परिवर्तनको निर्णयलाई कार्यान्वयन गरेको बताए । उनले कालोपत्रे सडकको ग्यारेन्टी कम्पनीले १ बर्ष मात्र दिने भएकाले कालोपत्रे योजना रद्द गरेर पेवर्स लगाउने नगरपालिकाको निर्णयलाई स्वीकृति दिएको बताए । 

बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँले अबको १० दिन भित्रमा सडक निर्माण कार्य सम्पन्न हुने बताइन् । उनले आचार्य कन्स्ट्रक्सनले १ करोड ५० लाख र कनकाई कन्स्ट्रक्सनले ८० लाख गरेर सो सडक निर्माणको कामलाई दुई खण्डमा ठेक्का दिएको जानकारी दिइन् । 

यो मात्र होइन, सोही बैठकबाट हाइवेबाट अतिथिसदन हुँदै जाने सडकमा पोलम वाल र पेवर्स लगाउने, पञ्चकन्या धर्मकाँटाबाट उत्तरको सडकमा पेवर्स लगाउने, साङवेद खड्गेश्वरी मार्ग हुँदै बानालाल मार्गसम्मको सडकमा पोलमसहितको पेवर्स जडान गर्ने गरी निर्णय परिवर्तन गरेको पाइएको छ ।

हास्यास्पद कुरा त यो छ कि, हाल आएर सडकलाई कालो देखाउन ब्लकमा कालो रङ लगाइएको छ । बिर्तामोड नगरपालिकाले हालसम्म पेवर्स लगाइएका सडकमा एउटै कम्पनीको ब्लक प्रयोग गरिरहेको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) को नाममा अजुनधाराको बिल्डकन इण्डष्ट्रिजको पेवर्स मात्र नगरले प्रयोग गरिरहेको हो । जुन सार्वजनिक खरिद ऐन बिपरित हो । लामो समय ऐन बिपरित काम भइरहँदा पनि नियामकले निकाय यसलाई नियन्त्रण गर्न सकेको छैन । 

बिल्डकनले नै ५ बर्ष ग्यारेन्टी दिएर बिर्तामोडमा पेवर्सबाट बनाइएको सडकको बेहाल छ । पेवर्स उक्किएर सवारी साधन चल्न नसक्ने हुँदा पनि ग्यारेन्टी अवधिमा उसले मर्मत गर्न आनाकानी गर्ने गरेको छ । बिल्डकनको तत्काल निर्माण र रकम निकासामा मात्र ध्यान गएको कतिपय जनप्रतिनिधी नै बताउन थालेका छन् । 

Messenger_creation_d583bc8e-a0f2-4cea-a0f1-835a7eb580cd

यसअघि पनि कमिसनको लोभमा नगरपालिकाले बिल्डकन इण्डष्ट्रिजको मात्र ब्लक प्रयोग गरेको आरोप लागेको थियो । बिर्तामोड–३ को भित्री सडकमा बिल्डकन बाहेकको कम्पनीको ब्लक प्रयोग हुँदा भुक्तानीमा समस्या भएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मोहन ढकालले बताएका थिए । लामो प्रयासपछि नगरपालिकाले रकम घटाएर भुक्तानी गरेको उनले बताए । पेवर्सको कमिसन केही जनप्रतिनिधी, कर्मचारी र राजनीतिक दलका अगुवा नेतालेसमेत प्राप्त गर्ने बुझिएको छ ।