बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

ऋणीलाई टर्चर दिएको भन्दै उनीहरुले दुई वटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमा आक्रमण भएको प्रहरीले जनाएको छ । नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोेध प्रदर्शन भएको थियो ।
गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरीले आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन् । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले ज्योति बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।