काठमाडौँ : सरकारले कोरोनाविरुद्ध ४६ हजार ८० मात्रा नयाँ खोप ल्याएको छ। कतार एयरवेजमार्फत आज पहिलो खेपमा ४६ हजार ८० मात्रा खोप आएको मन्त्रालयले जनाएको छ।गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ र ‘केपी ३’ देखिएसँगै सरकारले कोरोनाविरुद्ध फाइजरको ‘मनोभ्यालेन्ट’ खोपको पहिलो खेप आज ल्याएको हो। 

ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेशन (गाभी)को अनुदानमा आजदेखि नियमित रुपमा ५ दिनसम्म गरी १२ लाख मात्रा खोप ल्याइने तालिका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अब भोलिदेखि नै खोप लगाउन शुरु गरिने बताए।

उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने उनले बताए। 

गत वर्षमात्र चीनबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको ४० लाख मात्रा सिनोभ्यास खोप म्याद गुज्रिएपछि खेर गएको थियो। 

ठूलो मात्रामा खोप खेर गएको अवस्थामा सरकारले फेरि यस्तै प्रकृतिको खोप किन ल्याउनुपरेको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पहिलेका खोपलाई बुस्टर मात्रामा रुपमा लगाउन नमिल्ने तर यो खोपलाई भने पहिलो खोपसहित बुस्टरका रुपमा समेत लगाउन मिल्ने भएकाले ल्याइएको बताए।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र खोप सल्लाहकार समितिले सिनोभ्याकको खोप बुस्टर डोजको लागि योग्य नभएकाले बुस्टरको रूपमा प्रयोग नगर्न आग्रह गरेको थियो। 

बुस्टर डोजका लागि योग्य नभए पनि पहिलो र दोस्रो डोजको लागि प्रयोग गर्न डब्लूएचओको सुझाव थियो । 

खोप उपलब्ध हुँदा अधिकांश नेपालीले पहिलो खोप लगाइसकेका थिए। जसकारण उक्त खोप प्रयोगमा आउन नसकेको मन्त्रालयको भनाई छ। मन्त्रालयका अनुसार यो खोप भने बुस्टर डोजका रुपमा प्रयोग गर्न सकिनेछ।