काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा अस्ति शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ । जम्मा ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु भने सकुशल छन् ।
त्यस्तै वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
हराएका ६२ जनामध्ये आज बिहानसम्म पाँच जनाकाे शव फेला परेको छ । तीमध्ये तीन वटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५८ जनाको अवस्था थाहा हुन सकेको छैन ।
यसैबीच गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित घटनास्थल पुग्नुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो ।