झापा, २१ माघ — झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा सन्थाल समुदायको महान् पर्व सोहरायको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सन्थाल मार्साल डाहार सुसार समाजको आयोजनामा भएको उक्त कार्यक्रममा समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने विविध प्रस्तुति प्रस्तुत गरिएको थियो।
सोहराय पर्व सन्थाल समुदायको प्रमुख सांस्कृतिक उत्सव हो, जुन विशेषगरी कृषि चक्र, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञतासँग जोडिएको छ। धानबाली भित्र्याएपछि मनाइने यो पर्वले परिवार, समाज र प्रकृतिबीचको सहअस्तित्वलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्छ। पूर्वी नेपालका झापा र मोरङ जिल्लामा सन्थाल समुदायको उल्लेख्य बसोबास रहेको छ, जहाँ यस पर्वलाई विशेष उत्साहका साथ मनाइन्छ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की रहनुभएको थियो। कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सन्थाल जातिको मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षणमा राज्य र समुदाय दुवैको सक्रिय पहल आवश्यक रहेको बताउनुभयो। उहाँले सांस्कृतिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै आदिवासी समुदायको पहिचान जोगाउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाई, वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य संगिता सिवा, हडम मुर्मु लगायत जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
सांस्कृतिक कार्यक्रममा परम्परागत सन्थाल नृत्य, गीत–संगीत र भेषभूषाको आकर्षक प्रस्तुति गरिएको थियो। भारतबाट आएका कलाकार नानोक हस्ता, सोनाली सोरेन, अजित मुर्मु, भोला मुर्मु लगायतले विशेष प्रस्तुति दिएका थिए भने स्थानीय कलाकार सोराहीले पनि सांस्कृतिक कार्यक्रमलाई जीवन्त बनाएका थिए।
कार्यक्रमको अध्यक्षता मुकेस हस्ताले गर्नुभएको थियो भने सञ्चालन श्याम मुर्मुले गर्नुभएको थियो।
पछिल्लो समय आधुनिकता र शहरीकरणका कारण आदिवासी समुदायका मौलिक संस्कृतिमा चुनौती देखिएको अवस्थामा यस्ता कार्यक्रमले सांस्कृतिक संरक्षण, पहिचान सुदृढीकरण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सोहराय पर्वले केवल उत्सव मात्र नभई समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक गर्वलाई पनि सशक्त बनाएको आयोजकहरूको विश्वास छ।



























































