शुक्रबार राति भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज अवतरणको क्रममा नियन्त्रण बाहिर गएर दुर्घटनामा पर्यो । जहाज रनवेमा ल्यान्ड गर्न लाग्दा अचानक ब्रेक नलाग्दा जहाज चिप्लिएको थियो ।
यात्रुहरूका अनुसार दुर्घटनाको समयमा सबैमा डर फैलिए पनि साहससाथ जीवन जोगाए । ‘यदि दैलो (झ्याल) नफुटाइएको भए हामी भित्रै चेप्टिएर मर्ने थियौँ’, जहाजका यात्रु अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले भने, ‘हामी सबै हाम फालेर बाहिर निस्कियौं, ज्यान बचायौँ।’
घटनामा जहाजमा रहेका ५१ जना यात्रु सबै सकुशल बाहिर निकालिएका छन् । प्रशासन र प्रहरी टोलीले तत्काल यात्रुहरुलाई सुरक्षित स्थलमा पुर्याउने काम गरेको छ ।
धेरै यात्रुहरु अवतरणको समयमा भय र त्रास भोगेका छन् । घटनास्थलमा जहाज र रनवेको अवस्था जाँच भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्रारम्भिक जानकारीअनुसार ५१ जना यात्रु सकुशल छन् । चालक दलबारे जानकारी आएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल कार्यालयका अनुसार, यो घटना ८ बजेर २० मिनेटमा भएको हो ।































































