काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे बैठकमा आउँदाे वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यकाे समर्थनमा पारित भएकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदाे वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेकाे छ ।’

यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गर्नुभएकाे छ ।

यस्तै बैठकले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आउँदाे जेठ मसान्तसम्म थप गरेको छ  । यसअघि गएकाे मङ्सिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।