काठमाण्डाै – भारतले ६५४ मेगावाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे–अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट बिजुली चाैबिसै घण्टा (अरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद आज सकिँदै थियो ।
नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय र टनकपुर–महेन्द्रनगरबाट ५४ गरि ६५४ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । प्राधिकरणले यही पुस १७ गतेदेखि आउँदाे चैत १७ गतेसम्म बिजुली आयातको अनुमति पाएको हो । चैत १८ गतेदेखि भदाै १५ गतेसम्मकाे नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हिजाे विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरि आरटीसी मोडमा बिजुली आयात गर्न पाउने गरि अनुमति नवीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।































































