झापा । 


नेकपा(एमाले) झापा जिल्ला कमिटीले देश, संविधान र लोकतन्त्र रक्षाका लागि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको कमजोर अवस्था र लोकतान्त्रिक मूल्य–मान्यतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एमालेले जनस्तरबाट खबरदारी आवश्यक भएको निष्कर्ष निकालेको छ। नेकपा एमाले जिल्ला कमिटी झापाले आज बिर्तामोडमा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुरा उल्लेख गरेको हो। नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेमगिरीले एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिनुभएको छ।

पार्टीका अनुसार वर्तमान परिस्थितिमा राष्ट्र, राष्ट्रियता, संविधान र लोकतन्त्र जोखिममा परेको छ। यस अवस्थालाई टुलुटुलु हेरेर बस्न नसकिने भन्दै एमालेले प्रतिगामी सोच, षड्यन्त्र र अस्थिरता निम्त्याउने गतिविधिविरुद्ध सडकबाटै दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ। एमालेले लोकतन्त्रको रक्षा र जनताको अधिकार सुनिश्चित गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको उल्लेख गरेको छ।

एमाले झापा जिल्ला कमिटीले यही पौष १० गते दमक र बिर्तामोडमा ‘खबरदारी कार्यक्रम’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, लोकतान्त्रिक शक्ति तथा आम नागरिकको व्यापक सहभागिता रहने जनाइएको छ। कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायलाई लोकतान्त्रिक मूल्यअनुसार अघि बढ्न दबाब दिने उद्देश्य रहेको एमालेको भनाइ छ।

पार्टीले देशलाई थप अस्थिरतातर्फ धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय एकताको रक्षा नै आजको मुख्य आवश्यकता भएको जनाएको छ। साथै, लोकतान्त्रिक दलहरू एकजुट भई प्रतिगामी शक्तिको षड्यन्त्र विफल पार्नुपर्नेमा एमालेले जोड दिएको छ।

एमालेले ‘खबरदारी कार्यक्रम’ शान्तिपूर्ण तर दृढ हुने स्पष्ट गर्दै नागरिकलाई सचेत, संगठित र लोकतन्त्रको पक्षमा उभिन आह्वान गरेको छ।