काठमाण्डाै – नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाउनुभएको सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव दिएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताउनुभयाे । उहाँले सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिनेतिर केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयाे ।
यस्तै पत्रकार एवम् लेखक कनकमणि दीक्षितले अन्तर्राष्ट्रिय मान्यता अनुसार चुनाव घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताउनुभयो । संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउन फागुन २१ गतेको चुनाव आवश्यक रहेको भन्दै उहाँले नहुने सम्भावनाहरू टारेर भए पनि समयमै चुनाव गराउनुपर्ने जरुरी रहेको बताउनुभयो ।
पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले चुनावको प्रक्रिया शुरू गरिसकेपछि कानूनहरू परिवर्तन गर्न नहुने भन्दै यसलाई खेलाँची गरे ठीक ठाउँमा नपुगिने बताउनुभयो । शीर्ष नेतृत्वलाई स्थानहद तोकेर चुनाव गर्न सम्भव नरहेकाले नेताहरूको स्थानहद हटाउनुपर्ने उहाँको तर्क छ ।
प्रतिनिधिसभा सदस्य चुनावको तयारीका विषयमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्री, प्रमुख राजनीतिक दलका तल्लो तहका नेता तथा निर्वाचन आयोगका पदाधिकारीहरूसमेत सहभागी थिए ।































































