बिर्तामोड, कात्तिक २३ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको उपाधि विभागीय दुई टोलीले जित्ने दाबी गरेका छन्। भोलि हुने फाइनल खेल अघि आज भएको प्रिम्याच कन्फ्रेन्समा दुवै विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले जित्ने दाबी गरेका हुन्।

विभागीय दुवै टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडीहरू रहेका छन्। त्यसमा पनि अधिकांश एपीएफमा रहेका छन्। एपीएफका प्रशिक्षक जिबस पाण्डेले जसले भोलिको गेममा बढी मेहनत गर्यो उसैले जित्ने दाबी गरे। उनले एपीएफ फाइनल जित्न तयार रहेको बताएका छन्। आफ्नो टोलीमा सबै खेलाडी फिट रहेकाले गेम जित्नेमा उनी ढुक्क रहेका छन्। यो सिजन भएको सम्पूर्ण टुर्नामेन्टमा नेपाल पुलिस क्लबले एपीएफलाई हराउन नसकेका कारण पनि उनकाे टिमले जितलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।खेलको

एपीएफकी कप्तान अनिता बस्नेतले समेत आफ्नो टिमले जितका लागि रणनीतिका साथ खेल्ने बताइन्। टिमका प्रमुख खेलाडी फिट रहेका कारण फाइनल खेलमा उपाधि जित्ने  उनको दाबी छ।

उता एपीएफका प्रशिक्षक भोलाल सिलवालले पनि एपीएफको रणनीतिलाई छिर्दै आफ्नो टिमले बाजी मार्ने दाबी गरेका छन्। राष्ट्रिय स्ट्राइकर रेखा थापा र मिना देउवा लयमा रहेकाले पनि जित हात पार्न सक्ने उनले दाबी गरे। नेपाल पुलिस क्लबकी कप्तान अमृता जैसीले पनि यसपालि एपीएफलाई पछि पार्ने दाबी गरेकी छन्। उनले हरेक खेलमा एपीएफसँग टक्कर नेपाल पुलिसले मात्र दिन सकेको उदाहरण दिँदै यसपटक भने उपाधि नेपाल पुलिसले जित्नेमा उनी ढुक्क रहेकी छन्।

हजारौं दर्शकहरूको बीच हुने फाइनल खेल को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सेमिफाइनलको खेलमा १३०००सम्म दर्शकले खेल हेरेको उदाहरण दिँदै फाइनलमा समेत दर्शकको उल्लेख्य उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ।

दुई विभागीय टोलीबीचको यो भिडन्त झापा महिला गोल्डकपको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।


हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ ।