बिर्तामोड। शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४६ को अवसरमा बिर्तामोडमा स्वास्थ्य, खेलकुद र एकताको सन्देशसहित चौथो खुला बिर्तामोड रन प्रतियोगिता आयोजना हुने भएको छ। अनारमनी सामाजिक क्लब बिर्तामोड ३ को आयोजनामा हुने प्रतियोगिताको सिलि्कन एजुकेशन नेटवर्क को टाइटल स्पोन्सरशिपमा प्रतियोगिता हुने छ ।उक्त प्रतियोगिता आगामी कार्तिक १गते शनिबार बिहान ६:३० बजे बिर्तामोडकाे सैनिक बजार चोकबाट सुरु हुनेछ।
आयोजक समितिका संयोजक सञ्जय पौडेलका अनुसार म्याराथनको उद्देश्य स्वास्थ्यप्रति सचेतना जगाउनु र समाजमा एकता अभिवृद्धि गर्नु हो। उनले भने, “स्वस्थ जीवनका लागि खेलकुद अपरिहार्य छ। खेलकुदले युवामा सकारात्मक सोच र एकताको भावना जगाउँछ।”
म्याराथनमा पुरुष र महिला दुवै समूहका प्रतियोगीहरूको सहभागिता रहनेछ। दौड बिर्तामोडकाे सैनिक बजार चोकबाट सुरु बिर्तामोडकै सैनिक मोडमा आएर समाप्त हुनेछ। रनको धुरी करिब ५ किलोमिटरको हुनेछ
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिनेछ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार: रु. २५,०००, मेडल र प्रमाणपत्र ,द्वितीय पुरस्कार: रु. १५,०००, मेडल र प्रमाणपत्र ,र तृतीय पुरस्कार: रु. १०,०००, मेडल र प्रमाणपत्र रहने क्लबका अध्यक्ष राज मुखियाले बताएका छन्।
शनिबार बिहान साढेछ बजे सुरु हुने प्रतियोगितामा ५०० प्रतियोगी सहभागी हुने अनुमान गरिएको छ। हालसम्म १४० जनाले प्रतियोगितामा सहभागी जनाउन फारम भरिसकेको पनि क्लबका सचिव रुपेश तिम्सिनाले जानकारी गराएका छन्।
आज झापाको सैनिक बजारमा पत्रकार सम्मेलनको आयोजना गरी चौथोपटक प्रतियोगिता आयोजना गर्नु क्लबको गौरवको विषय भएको उल्लेख गरिएको छ। पछिल्लो समय दुर्वेशनमा युवाहरू फस्दै गएको अवस्थामा दुर्वेशनमुक्त समाज निर्माणका लागि पनि प्रतियोगिताले सन्देश दिन खोजेको आयोजक समितिले जनाएको छ । विगतका वर्षहरूमा निरन्तर सामाजिक कार्य गर्दै आएको सो क्लबले खेलकुद मार्फत युवाहरूलाई स्वस्थ रहन र सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने उद्देश्य लिएको छ।
पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिका वडा नं १० का वडा अध्यक्ष दुर्योधन गुरुङले खेलकुदले सामाजिक एकता र स्वास्थ्यप्रति जागरण ल्याउने बताए। उनले भने, “समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।”
कार्यक्रमका संयोजक पौडेलले ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र स्थानीय तह, संघसंस्था तथा समुदायसँगको सहकार्यमा प्रतियोगिता सफल बनाइने बताए।
आयोजक समितिले सबै खेलप्रेमी, स्वास्थ्यप्रेमी र युवाहरूलाई म्याराथनमा सहभागिताका लागि आह्वान गरेको छ। कार्यक्रममा मेची आँखा अस्पताल, बिर्तामोड नगरपालिका साथै विभिन्न सामाजिक संघ–संस्था र स्थानीय व्यवसायीहरूको सक्रिय सहभागिता रहने रहने बताइएको छ ।
समाजमा स्वास्थ्य, अनुशासन र एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको विश्वास आयोजकले व्यक्त गरेका छन्।






























































