तेह्रथुम, आठराई —

तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले विकास योजनालाई राजनीतिक प्रतिशोधका कारण रोक्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत भेटघाटका शुभकामना व्यक्त गर्दै अध्यक्ष पाहिमले वास्तविक समस्या समाधान नगरी केवल भाषण र प्रतिज्ञामै सीमित हुने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरेका हुन्।

पूर्व कोशी प्रदेश सदस्य तेजमान कन्दङवा र हालका प्रदेश सभा सदस्य दुर्गा प्रसाद चापागाई ‘सचिन’को भेटघाटको तस्वीर सार्वजनिक गर्दै अध्यक्ष पाहिमले भनेका छन्, “भेटघाट सदैव फलदायी, सर्वाङ्गीण र जनहितमुखी होस् भन्ने अपेक्षा छ। तर, मिठा कुरा र भाषणबीच पनि केही यथार्थ प्रश्नहरू निरन्तर मनमा घोचिरहेकै छन्।”

उनले आठराईका सुख्खाग्रस्त करिब १८०० घरधुरीका नागरिकले “बृहत आठराई खानेपानी आयोजना” कहिले उपयोग गर्न पाउने भन्ने प्रश्न उठाउँदै योजनालाई दलगत आधारमा अवरुद्ध गर्न खोजिएको आरोप लगाए।

शहरी विकास मन्त्रालयमार्फत २०८२/८३ आर्थिक वर्षमा सघन सहरी विकास कार्यालय धनकुटाबाट विनियोजित ५ करोड रुपैयाँ पोखरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि तोकिएको भए पनि उक्त बजेट कार्यान्वयन रोक्ने चलखेल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। यसअघि पनि विद्यालय भवन निर्माण अवरुद्ध भएको तीतो इतिहास दोहोरिन लागेको उनले जनाए।

अध्यक्ष पाहिमले लेखेका छन्, “योजना बिगार्ने, विकास रोक्ने र बजेट घुमाउने प्रवृत्ति विकास नचाहने मानसिकताको प्रतिफल हो। इच्छाशक्ति र प्रतिबद्धता भए विकास रोकिँदैन, योजना विग्रँदैन। आठराईको हितका लागि सबै मान्यज्यूहरूको साझा प्रयास अब अपरिहार्य छ।”