काठमाण्डाै – झन्डै २ वर्षपछि दशरथ रङ्गशालामा फुटबल फर्किँदा नेपाली टोली उत्साहित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा नेपालले बङ्गलादेशसँग यही भदौ २१ र २४ गते २ वटा मैत्रीपूर्ण फुटबल खेल्दैछ । २०८० साल मङ्सिर १ गतेपछि नेपालको राष्ट्रिय टोलीले यो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।रङ्गशाला असुरक्षित भएको भन्दै यस मैदानमा फिफाका अधिकारिक प्रतियोगिताहरू हुन सकेका थिएनन् । एएफसीले खेल्न अनुमति नदिँदा नेपाली समर्थकले घरेलु मैदानमा लामो समयसम्म राष्ट्रिय टोलीलाई देख्न पाएका थिएनन् ।
नेपाली टोलीका सदस्य अञ्जन विष्टले दशरथ रङ्गशालामा लामो समयपछि खेल्न पाउँदा धेरै उत्साहित रहेको बताएका छन् । नेपालमा नियमित फुटबल नहुँदा खेलाडीलाई समस्या भइरहेको र राष्ट्रिय टोलीमा पनि समस्या देखिएको उनले गुनासो गरे । नेपाली टोलीमा पहिलो पटक स्थान बनाएका आदित्य शाक्यले पनि दशरथ रङ्गशालामा फुटबल खेल्न पाउँदा धेरै उत्साहित रहेको बताएका छन् ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन् । गएको मार्चमा फिफा विश्वकप छनोटमा बहराइनसँगको खेलमा डेब्यु गरेका उनी त्यसयता टोलीबाट बाहिर थिए ।






























































