सिराहाको सलहेश युवा क्लब फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको फाइनमा प्रबेश गरेको छ । विहीबार (आज) भएको दोस्रो सेमिफाइनल खेलमा झापाको 'रेड स्टार फुटबल क्लब'लाई २—० गोलअन्तरले पराजित गर्दै सलहेशले फाइनलको यात्रा पक्का गरेको हो ।
सिराहाका लागि युसुफ मल्लीकले एक्लैले २ गोल गरे । खेलको १३ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका उनले ४३ औँ मिनेटमा पुनः १ गोल गरे ।
यो संगै अब सिराहाले शनिबार हुने फाइनल खेलका लागि ललितपुरको चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गरेको छ । बुधबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरीको द योङ ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो ।
गोल्डकपको फाइनल खेल साउन ३१ गते शनिबार हुनेछ ।
जम्मा आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद सात लाख दुइ हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रूपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोकृष्ट खेलाडीले यमाहीको मोटरबाइक प्राप्त गर्ने र विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।






























































