झापा । मोरङको धनपालथान गाउँपालिका–४ मा सञ्चालित कर्सिया खानेपानी योजनाबाट हालसम्म १३ सय घरधुरी लाभान्वित भएका छन्।
झन्डै ५ किलोमिटर पाइपलाइन बिस्तार र फिल्टर प्लान्टसहित निर्माण भएको यो योजना प्रदेश सरकारको दीर्घकालीन योजनामध्ये एक हो।
सुनसरी खानेपानी डिभिजन कार्यालयमार्फत आ.व. २०८०/०८१ सालदेखि क्रमागत रुपमा बजेट विनियोजन भई निर्माण हुँदै आएको यो योजनाको औपचारिक उद्घाटन आज गरिएको हो।
उद्घाटन समारोहमा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीले योजना उद्घाटन गर्दै प्रदेश सरकारले सन २०३० सम्म सम्पूर्ण नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित अभियान अघि बढाएको जानकारी दिनुभयो।
"स्वच्छ पानी पहुँच होइन, जनताको अधिकार हो। त्यसलाई सुनिश्चित गर्न हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं," मन्त्री कार्कीले भन्नुभयो ।
कार्यक्रमको सभापतित्व कर्सिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष खेमराज लोहनीले गर्नुभएको थियो।
कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री गयान्द मण्डल, पूर्व कृषि राज्यमन्त्री ज्ञानेश्वर राजबंशी, पूर्वमन्त्री जीवन धिमीरे र खानेपानी डिभिजन सुनसरीका इञ्जिनियर मोहन महासेठ विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन समितिका सचिव गौरिशंकर मण्डलले गर्नुभएको थियो।



























































