काठमाण्डाै – सरकारले गैरसरकारी संस्थाद्वारा सञ्चालित चार वटा बालसुधार गृह आफैँ सञ्चालन गर्ने भएको छ । युसेप गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर, कास्की, मोरङ र बाँकेका बालसुधार गृहलाई चालू आर्थिक वर्षदेखि सरकारले नै सञ्चालन गर्ने व्यवस्था गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो ।
आफ्नो कार्यकालको पछिल्लो एक वर्षमा भएका काम कारबाहीबारे जानकारी दिन आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री सुडीले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि विशेष संरक्षण निर्देशिका २०८२ स्वीकृत भएको र सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।
एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँमा फेला परेका ७१ जना बालबालिकालाई स्वदेश फिर्ता गराइएको र जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरेको मन्त्रालयले जनाएको छ ।






























































