बिर्तामोड । बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।
बिर्तामोड नगरपालिकाको यो तेस्रो भवन ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । भवन पाँच तलाको रहेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताइन् ।
‘सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवन आवश्यक थियो’, नगर प्रमुख प्रसाईले भनिन् ।
नवनिर्मित भवनको भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ । दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ भने तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।
सोहि कार्यक्रमका बीच वडा नम्बर ७ का ३ जना सुकुम्बासीलाई जग्गा धनीपुर्जासमेत वितरण गरिएको छ ।
यस अघि बिर्तामोड नगरपालिका बनेसँगै तीन तले भवन निर्माण गरिएको थियो भने त्यस अघि अनारमनी गाविसको भवनसमेत प्रयोग भइरहेको छ ।


























































