स्कटल्यान्ड — नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डसँगको खेलमा झिनो लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ब्याटिङमा आएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो ।नेपालले सुरुआतदेखि नै उत्कृष्ट बलिङ गरेको थियो । दीपेन्द्रसिंह ऐरीले खेलको पहिलो ओभरमै मार्क वाटलाई १ रनमा बोल्ड गरी नेपाललाई विकेट दिलाउन सुरु गरेका थिए । त्यसको अर्को ओभरमा करण केसीले जर्ज मुन्सीलाई आउट गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय विकेट पूरा गरेका थिए । लगत्तै अर्को बलमा अनावश्यक २ रनका लागि दौडिएका लिएम नेयलोरलाई लोकेश बमले १ रनमा रन आउट गरी खेलमा हाबी भए । करणले फिन्ले म्याकक्राथलाई १२ रनमा आउट गरे । ललित राजवंशीले ब्रान्डन म्याकमुलेनलाई १० रनमा आउट गरेपछि स्कटल्यान्ड पाँचौं ओभरमा २४–५ को स्थितिमा पुगेको थियो ।

त्यसपछि खेलमा सन्दीप लामिछाने छाएका थिए । ४ विकेट लिएका उनी दुई पटक हृयाट्रिक नजिक पनि पुगे । सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनले स्कटल्यान्डका कप्तान म्याथ्यु क्रसलाई १५, क्रिस्टोफर म्याकब्रिजलाई शुन्य, ज्याक जार्भिसलाई शुन्यमा बोल्ड गरेका थिए । सन्दीपले साफ्यान सरिफलाई ६ रनमा एलबीडब्लु आउट गरे ।

माइकल लिस्कले स्कटल्यान्डबाट सर्वाधिक ४६ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा बोल्ड हुनु पूर्व उनले ४६ बल खेलि ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रले ३.४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

स्कटल्यान्डमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपाली टोली घाइते तीब्र बलर नन्दन यादव विनै खेलिरहेको छ । उनको स्थानमा बसिर अहमदलाई खेलाइएको छ ।नेपाल र स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । तर नेपालले त्यत्तिखेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थिएन । त्यही छनोटमा स्कटल्यान्डलाई समूहचरणमा १ रनले पछाडि पार्दै नेपाल पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको थियो ।