बिर्तामोड, झापा |

बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता लक्षित विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी उदाहरणीय सफलता हासिल गरेको छ। लैङ्गिक समानता र समावेशी समाज निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिएका ती कार्यक्रमहरूले स्थानीय तहमा सकारात्मक परिवर्तनको अनुभूति दिलाएका छन्।

IMG-20250530-WA0006

नगरपालिकाले बजेटमार्फत महिला, दलित, जनजाति, मधेसी र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेट अन्तर्गत महिला सशक्तिकरण, बालमैत्री कार्यक्रम, आत्मरक्षा तालिम, लागू औषधविरुद्ध सचेतना अभियान, जेष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमहरू पूर्णरूपमा सम्पन्न भइसकेका छन्।

नगर प्रमुख पवित्रा देवी महताराको नेतृत्वमा महिला तथा बालबालिकाको क्षेत्रमा विशेष प्राथमिकता दिइएको हो। "हामीले लागू औषध दुर्व्यसनको रोकथामका लागि मात्र १५ लाख विनियोजन गरेर हजारौं विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छौं," मेयर महताराले बताउनुभयो।

IMG-20250611-WA0010

महिलाहरूका लागि आयआर्जन सीपमूलक तालिम, हिंसा विरुद्धको सचेतना अभियान तथा साझेदारी कार्यक्रम अन्तर्गत २३ लाख बजेट खर्च गरेको थियो। महिला तथा बालबालिका शाखाकी प्रमुख पुष्पा कार्कीका अनुसार, महिला सशक्तिकरणका आठवटा शीर्षकमा मात्र ४० लाख बजेट विनियोजन गरिएको थियो, जुन पूर्ण रूपमा कार्यान्वयन भइसकेको छ।

IMG-20250614-WA0007

बालमैत्री नगर निर्माण, स्काउट कार्यक्रम, आत्मरक्षा तालिमजस्ता कार्यक्रमहरूमा २० लाख बजेट विनियोजन गरी प्रभावकारी रूपमा सम्पन्न गरिएका छन्। अपाङ्गता क्षेत्रमा पनि प्रदेश सरकार र करुणा फाउन्डेसनसँगको साझेदारीमा ३५ लाख खर्चेर पुनःस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रोलाले जानकारी दिनुभयो।

IMG-20250611-WA0009

त्यस्तै, जेष्ठ नागरिकहरूका लागि सम्मान, अनुभव आदानप्रदान, तथा न्यानो कपडा वितरणजस्ता कार्यक्रमहरूमा १० लाख बजेट विनियोजन गरी कार्यक्रम सम्पन्न गरिएको छ। दलित, जनजाति र अन्य सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूमा २० लाख बजेट खर्च भएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी संयोजक यमुना आचार्यका अनुसार आगामी आर्थिक वर्षमा अजित अझै बजेटलाई सशक्त रुपमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो।। उहाँले अझै पनि समाजमा विभेदका अवशेषहरु रहेकाले ती विभेदहरूलाई निमिट्यान्न पार्नका निम्ति सशक्त बजेट छुट्याउनुपर्ने आवश्यकता रहेको दाबी गर्नुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अगाडि बढाइने जानकारी गराउनुभएको छ।

नगरपालिकाले अबको आगामी आर्थिक वर्षमा यो क्षेत्रका कार्यक्रमहरूलाई अझ बढी बजेटसहित सशक्त रूपमा अगाडि बढाउने नीति लिएको छ। बिर्तामोड नगरपालिका सामाजिक समावेशीकरण र समानताको दृष्टिकोणले अग्रगामी मोडेलका रूपमा स्थापित हुँदै गएको छ।