काठमाडौँ : आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य पेश गरेको छ।
घरेलु मैदान डन्डीस्थित फोर्थहिलमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनायो। उसका लागि कप्तान रिच बेरिङटनले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रनको योगदान गरे।
माइकल लिस्कले ९४ तथा चार्ली टारले ६८ रन जोडे। बलिङतर्फ करण केसी र दीपेन्द्रसिं ऐरीले दुई–दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे। ३२४ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
यसअघिका खेलमा लगातार जित निकालेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो।
नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।































































