आरिफ शेखको अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ । आरिफले खेलको एकमात्र अर्धशतक बनाएपछि नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै जित निकालेको हो । आरिफले ७८ रन बनाएपछि नेपालले डन्डीको फोर्थहिलमा २ सय २६ रनको लक्ष्य ४७.१ ओभरमै पूरा गर्‍यो ।

आरिफले ४० औं ओभरमा भिभिएन किङ्माको बलमा प्वाइन्टमाथि छक्का प्रहार गर्दै ८१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । ४२ औं ओभरमा आरिफले किङ्माको बलमा अर्को छक्का प्रहार गरेका थिए । आरिफले कुल ९९ बल खेली ७ चौका र २ छक्का प्रहार गरी किङ्माकै बलमा आउट भए ।

आरिफले ५९ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै आफ्नो आठौं अर्धशतक बनाएका हुन् । साथै उनको यो उच्च स्कोर पनि हो । यसअघि ६६ रन उनको व्यक्तिगत उच्च स्कोर थियो । आरिफले दीपेन्द्रसिंह ऐरीसँग ९२ बलमा ८९ रनको ठोस साझेदारी गरे । दीपेन्द्रले ५१ बल खेली ३ चौका प्रहार गरी अविजित ३८ रन बनाए । विजयी छक्का प्रहार गरेका गुलशन झा ४ बलमा ११ रन बनाई नटआउट रहे ।

आरिफले यसअघि कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । रोहित ३९ बल खेली १ चौका प्रहार गरी २३ रनमा रनआउट भए । आरिफका दाइ आसिफ शेख र कुशल भूर्तेलले यसअघि ३२ रन जोडेर नेपाललाई मध्यम सुरुआत दिलाएका थिए । सातौं ओभरमा पाउल भान मिकेरेनले आसिफलाई बोल्ड गरी नेदरल्यान्ड्सलाई पहिलो सफलता दिलाएका थिए । आसिफले २२ बल खेली ३ चौका प्रहार गरी १९ रन बनाए ।

कुशल र भीम सार्कीले दोस्रो विकेटका लागि ३१ रन जोडे । ५ रनको अन्तरमा दुवै ब्याट्सम्यान आउट भएपछि नेपाल संकटमा परेको थियो । यसअघिका १३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा केवल २ विकेट लिएका ब्याटिङ अलराउन्डर माइकल लेभिटले कुशल र भीम दुवैलाई आउट गरेका थिए । भीमले २६ बल खेली १ चौका प्रहार गरी ११ रन बनाए । इन साइड एज लागि बोल्ड भएका कुशलले ४२ बल खेली ५ चौकासहित २५ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय २५ रनमा अलआउट भएको थियो । प्रमुख बलरहरू करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि लिग–२ को शीर्षस्थ टोली नेदरल्यान्ड्सलाई नेपालले ठूलो स्कोर बनाउनबाट रोकेको थियो ।

सोमपालले ३ विकेट लिए भने करण, सन्दीप र ललितले २–२ विकेट लिए । खेलको दोस्रो ओभर एवं आफ्नो पहिलो ओभरको पहिलो बलमै सोमपालले लेभिटलाई १ रनमा आउट गरे । सोमपालका ओपनिङ जोडी करणले पाँचौं ओभरमा म्याक्स ओ डाउडलाई ४ रनमा बोल्ड गरेपछि नेपालले सुरुआतदेखि नै खेल नियन्त्रणमा राखेको थियो ।

कप्तान स्कट इडवार्डसले ४६ रन बनाए । उनले ७१ बल खेली ४ चौका प्रहार गरे । इडवार्डसले विक्रमजित सिंहसँग तेस्रो विकेटका लागि १ सय १ बलमा ७२ रनको साझेदारी गरे । सिंहले ५६ बल खेली २ चौका प्रहार गरी ३८ रन बनाए । उनलाई सन्दीपले आफ्नो पहिलो ओभरमै आउट गरे ।

देव्रेहाते स्पिनर ललितले पनि आफ्नो पहिलो बलमै विकेट लिए । २७ औं ओभरमा ललितले इडवार्डसलाई कप्तान रोहितबाट क्याच गराए । ललितले ज्याक लियोन क्याचेटको पनि विकेट लिए । क्याचेतले ३४ बल खेली १ चौका प्रहार गरी २७ रन बनाए । देव्रेहाते तीब्र बलर रिजन ढकालको स्थानमा खेलेका ललितले ७ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । स्कटल्यान्डविरुद्ध २ विकेट लिए पनि रिजनले १० ओभरमा ७८ रन दिएका थिए ।

सन्दीपले तेजा निडामानुरुको विकेट पनि लिए । उनले आफ्नो १० ओभरको स्पेलमा ४८ रन खर्चेर २ विकेट लिए । निडामानुरुले २९ बलमा १३ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नोह क्रोजले सर्वाधिक ४८ रन बनाए । ५५ बल खेल्दै ५ चौका प्रहार गरेका उनलाई सोमपालले बोल्ड गरे 

रोइलोफ भान डेर मार्वी २२ बलमा २१ रन बनाई रनआउट भए । करणले १० ओभरमा ३५ रन खर्चे । सोमपालले भिभिएन किङमालाई १ रनमा बोल्ड गरे । सोमपालले ९.१ ओभरमा ४८ रन खर्चे ।

यसअघि नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । करण केसीले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याएको थियो ।

लिग–२ को यस यात्रामा १४ खेलमा नेपालको केवल यो चौथो विजय हो । नेपाल १० अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । आठ राष्ट्र सहभागी लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।