मेचीनगर खेलकुद विकास समितिको आयोजना तथा ग्याम्स एन्ड स्पोर्ट एकेडेमीको सहआयोजनामा प्रदेश स्तरीय महिला खुल्ला भलिबल लिग प्रतियोगिता हुने भएको छ।
मेचीनगर १० को नन्दा करिडोरमा यही जेठ ८ गतेदेखि १० गतेसम्म प्रतियोगिता सम्पन्न हुने सहआयोजक कमिटीका सदस्य धर्मेन्द्र खड्काले जानकारी दिनुभयो। कोशी प्रदेशका खोटाङ, इलाम, झापा, सुनसरी, मोरङ र आयोजक टिम गरी ६ वटा टिमको प्रतियोगितामा सहभागिता रहने जनाइएको छ।
राष्ट्रिय खेल भलिबलमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आजभन्दा ७ वर्ष अगाडि स्थापना भएको एकेडेमीले प्रतियोगिता निरन्तर गर्दै आइरहेको छ। लिकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टिमले २० हजार प्राप्त गर्ने आयोजक कमिटीले जनाएको छ। प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था पनि गरेको जानकारी दिएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरूको पनि सहभागिता रहने सहआयोजक कमिटीका अध्यक्ष गणेश विक्रम नेम्बाङले जानकारी दिनुभएको छ।
६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा एउटा टिमले सबै टिमसँग लिग खेल्नेछ। फाइनलमा सबैभन्दा बढी अङ्क ल्याउने र दोस्रो हुनेले फाइनल प्रतिस्पर्धा गर्नेछ।































































