बिर्तामोड —

रोजगारी सिर्जना र युवालाई दक्ष श्रमिकमा रूपान्तरण गर्न बिर्तामोड नगरपालिकाले उत्कृष्ट  पहल थालेको छ। नगरले रोजगारी सेवा केन्द्र मार्फत स्थानीय स्तरमै युवा रोजगारी प्रवर्द्धन र उत्पादनशील श्रमशक्ति निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

चालु आर्थिक वर्षमा नगरपालिकाले ५० दिने निर्माण सम्बन्धी विशेष तालिम संचालन गर्दैछ, जसमा ४० जना युवा सहभागी छन्। तालिमका लागि ६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। तालिमको उद्देश्य युवालाई आधुनिक निर्माण सीपमा दक्ष बनाउँदै उनीहरूलाई आन्तरिक श्रम बजारमा प्रत्यक्ष प्रतिस्पर्धी बनाउनु हो।

युवालाई सिपसँगै रोजगारीको अवसर पनि प्रदान गर्ने उद्देश्यले, नगरले हालसम्म ५७ जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गरिसकेको छ। रोजगार सेवा केन्द्रका अनुसार, चालु आर्थिक वर्षमा सेवा केन्द्रले ३६ लाख २२ हजार रुपैयाँ बजेट पाएकोमा हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ।

रोजगारी सेवा केन्द्र प्रमुख होमनाथ भट्टराईका अनुसार, संघ र प्रदेश सरकारबाट सञ्चालित विभिन्न तालिमहरूको समेत सहजीकरण भइरहेको छ। उनले यस वर्ष ४०० भन्दा बढी श्रमिकलाई श्रम स्वीकृति सम्बन्धी सेवा, र १०० भन्दा बढी युवालाई वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा दिएको जानकारी दिए। साथै, वैदेशिक रोजगारीमा ठगीमा परेका १२ जना पीडित युवाहरूलाई सहायता गरिएको छ।

बिर्तामोडमा हालसम्म ५०० भन्दा बढी सूचीकृत बेरोजगारहरू रहेका छन्। रोजगार सेवा केन्द्रले उनीहरूलाई क्रमशः रोजगारीमा आबद्ध गराउने अभियान तीव्र पारेको छ। साथै, विदेशबाट फर्केका श्रमिकहरूको अभिलेख संकलन र सूचीकरणको कार्य पनि सेवा केन्द्रमार्फत भइरहेको छ।

नगरपालिकाले मजदुरहरूको सुरक्षा सुनिश्चित गर्न ट्रेड युनियनमा आबद्ध श्रमिकहरूको दुर्घटना बीमा अनिवार्य गरेको छ। साथै, श्रमिक हितकोष स्थापना गरेर हालसम्म १० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिएको छ। हितकोषमा १,००० भन्दा बढी श्रमिक आबद्ध भइसकेका छन्, जसबाट मजदुरहरूको सामाजिक सुरक्षामा थप बल पुगेको छ।

सेवा केन्द्रले स्थानीय मजदुरहरूको अभिलेख अद्यावधिक राख्ने कार्य पनि तीव्र बनाएको छ। हालसम्म १,३०० श्रमिकहरूको नामावली संकलन भइसकेको छ, र ती श्रमिकलाई हितकोषसँग आबद्ध गराउने प्रयास जारी छ। साथै, निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम समेत नियमित प्रदान गरिँदै आएको छ।

नगरका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले भने, "वैदेशिक रोजगारीको बढ्दो निर्भरता घटाएर आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवर्द्धन गर्नु नगरको दीर्घकालीन लक्ष्य हो।" उनले थपे, "आन्तरिक रोजगारी कार्यक्रमले सार्वजनिक पुँजी निर्माण र जनताको जीवनस्तर उकास्न मद्दत गर्नेछ।"

बिर्तामोड नगरपालिकाको यी प्रयासहरूले स्थानीय युवा शक्ति र श्रमिक वर्गमा नयाँ आशा र आत्मविश्वास जागृत गराएको छ। सीपयुक्त श्रमशक्ति निर्माण र रोजगारी सिर्जनामार्फत बिर्तामोड नगरले आर्थिक समृद्धिको मार्गमा ठोस पाइला चालिरहेको स्पष्ट देखिन्छ।