बिर्तामोड, २२ बैशाख । झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ ।

प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो । सोही कार्यक्रमका बीच नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रेस काउन्सिलका निवर्तमान सञ्चालक सदस्य गणेश पोखरेल, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, प्राइम मिडिया प्रालिका अध्यक्ष निर्मल खत्री, नयाँ पेपरका प्रधान सम्पादक रमेश तिवारीले संयुक्त रुपमा टेबल क्यालेण्डर सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जे लेख्दा र बोल्दा हुन्छ भन्ने भावनाको विकास भएको बताउनुभयो । सामाजिक सञ्जालमा धेरै विकृति भएको बताउँहुँदै उहाँले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । कानून र विधि बनाएर सामाजिक सञ्जालको नियमन गर्नुपर्ने उहाँको भनाइ छ । गतल सूचना र अफवाह फैलिने भएकाले सामाजिक सञ्जालमाथि नियमन आवश्यक रहेको उहाँको भनाइ छ ।