बिर्तामोड–पर्यटन क्षेत्रमा सशक्त कलम चलाउनका निम्ति पर्यटन पत्रकार मञ्च झापा गठन भएको छ । कोशी प्रदेशमा पर्यटकीय सम्भावना र पर्यटकीय क्षेत्रको उजागरका निम्ति पर्यटक पत्रकार मञ्च गठन गरिएको हो ।

नेपालको आर्थिक उन्नतिका निम्ति पर्यटकीय क्षेत्र प्रमुख आम्दानीको स्रोत बन्न सक्दछ । पर्यटनसँग सरोकार राख्ने विभिन्न संघ संगठन र उद्योग व्यवसायीहरूसँग सहकार्य गर्दै पत्रकार मञ्चले विभिन्न गतिविधि गर्ने उद्देश्य लिएको छ।

झापा जिल्ला पर्यटकीय सम्भावना बोकेको जिल्लामा पर्दछ। यहाँको सांस्कार संस्कृतिलाई उजागर गर्न सकेमा भारत लगायतका मुलुकहरूबाट आउने पर्यटकहरूलाई केही दिन झापामा राख्न सकिने प्रष्ट देखिएको छ। यहाँका धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने र पर्यटकीय क्षेत्रहरूको सम्भावना बोकेका ठाउँहरूको प्रचार गरेर यसलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नु पर्यटन पत्रकार मञ्चको प्रमुख उद्देश्य रहेको छ।  । बिर्तामोडको विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा आज भएको एक कार्यक्रमका बीच पत्रकार विनोद पण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति गठन भएको हो ।

मञ्चको उपाध्यक्षमा पुष्प बराल, सचिव हिमाल खरेल, कोषाध्यक्ष प्रकाश बानियाँ र सहसचिवमा नारायण अर्याल रहेका छन् । त्यस्तै, सदस्यहरुका इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णु श्रेष्ठ र धर्मराज प्रसाईं रहेका छन् ।

समिति गठनसँगै झापामा पर्यटन प्रवर्धनको समस्या र समाधान विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्ष २०८२ लाई लक्षित गरी छलफल चलाइएको हो ।

छलफलमा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईं लगायतले आआफ्नो धारणा राखेका थिए । वक्ताहरुले स्थानीय पर्यटकीयस्थललाई डिजिटलमा लैजानुपर्ने, होटलमा स्थानीय पर्यटकीयस्थलको तस्बिर र जानकारीमुलक सूचना राख्नुपर्ने, ग्रामीण पर्यटन प्रवर्धनमा केन्द्रित रहनुपर्नेमा जोड दिएका थिए ।