बिर्तामोड । भारतीय हाउजिङ कम्पनी ‘वास्तु बिहार’ लाई झापाको बिर्तामोडमा भवन निर्माण गर्न रोक लगाइएको छ । बिर्तामोड नगरपालिकाले उक्त कम्पनीलाई भवन निर्माण गर्न रोक लगाएको हो ।
सो कम्पनीले बिर्तामोड नगरपालिका–२ मा भवन निर्माण गरिरहेको छ । कम्पनीले स्थानीय ४ जना जग्गाधनीको जमिन सम्झौता गरेर भवन निर्माण गर्न सुरु गरेको थियो । जगन्नाथ खनाल, नारदमुनी अधिकारी, युवराज दाहाल र राजेश महेश्वरीको जमिनमा भवन निर्माण गर्दै आएको कम्पनीले नगरपालिकासँग भवन निर्माणका लागि कुनैपनि अनुमति लिएको छैन ।
बिर्तामोड नगरपालिकाले सरोकारवाला निकायसँग अनुमति नलिएका कारण भवन निर्माणमा रोक लगाएको हो । पूर्वमा लाखौं रकम खर्च गरेर प्रचार–प्रसार गरिरहेको सो कम्पनीले करिब ३ बिगाहा जमिनमा भवन निर्माण गर्ने बताएको थियो । ‘एक विश्वस्तरीय टाउनशिप’ नाराका साथ भवन निर्माण गरेर बिक्री गर्ने कम्पनीको योजना रहेको बताइएको छ ।
बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोर पौडेलले नगरपालिकामा दर्ता नभएको, भवनको नक्सा पास नभएको लगायतका कारणबाट निर्माणमा रोक लगाएको बताए । ‘जम्मा एउटा घरको नक्सा पास गरेको रहेछ, पौडेलले भने–‘जग्गा एउटाको नाममा र भवन निर्माण गर्ने कम्पनी अर्काे भएका कारण निर्माणमा रोक लगाउनु परेको हो ।’ इन्फो कल्चर नामको बिरगञ्जमा दर्ता भएको कम्पनीको अफिस बिर्तामोड–४ मा रहेछ–उनले भने– ‘तर बिर्तामोड–२ मा त्यस कम्पनीको कुनै आधिकारिकता नरहेका कारण हामीले निर्माण प्रक्रियामा रोक लगाउनु परेको हो ।’
पौडेलले सर्बसाधारण नागरिकले सो कम्पनीमा लगानी गरेपछि त्यसको ग्यारेन्टी लिने निकाय नै दर्ता नहुँदा खरिदकर्ता ठगिमा पर्ने स्पष्ट रहेको बताए । उनले जनताको लगानीको ग्यारेन्टी नभएसम्म हाउजिङ कम्पनीलाई निर्माणकार्यमा रोक लगाइने बताएका छन् ।
कम्पनीलाई जमिन उपलब्ध गराएका बिर्तामोडका व्यवसायी जगन्नाथ खनालले आफुहरुको जमिनमा भवन निर्माण गरेर बिक्री गर्ने सम्झौता गरेर जमिन उपलब्ध गराएको बताए । ‘खाली जमिन बिक्री भइरहेको थिएन, भवन निर्माण गरेर बिक्री गर्ने भन्दै वास्तु् बिहार भन्ने कम्पनी आयो, अनि हामीले जमिन दिने सहमति गरेको हौ– खनालले भने । उनले जमिनको बाहेक अरु बिषयको स्वामित्व लिन आफु्हरु तयार नरहने समेत बताए ।
बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरेले वास्तु बिहार नामको कम्पनी नगरपालिकामा दर्ता नरहेको जानकारी दिए । ‘बिर्तामोडका बिद्युत पोलहरुमा बिज्ञापन बोर्ड राखेको देखेपछि हामीले हटाएका हौं– घिमिरेले भने–‘वास्तु बिहार भन्ने कम्पनी हाम्रो नगरपालिकामा दर्ता छैन ।’ उनले सो कम्पनीले नगरपालिकामा क्षेत्रगत अनुमति लिएर व्यवसाय कर तिरेपछि मात्र व्यवसाय सञ्चालन गर्न पाउने कानुन रहेको बताए । हालसम्म सो कम्पनीले व्यवसाय सञ्चालनको लागि अनुमति लिएको छैन ।
वास्तु बिहारले झापाको बिर्तामोड र मधेस प्रदेशको बिरगञ्जमा भवन निर्माण गरेर बिक्री गर्दै आएको छ । सो कम्पनीले मोरङको बिराटनगरमा समेत यसरी नै भवन निर्माण गर्न लागेको बुझिएको छ । दर्ता बिनै भारतीय कम्पनीले करोडौं फाइदा कमाउने उद्देश्यले व्यवसाय गर्न थालेपछि स्थानीय तहले त्यसलाई रोक लगाएका हुन् । उनीहरुले कम्पनीको आधिकारिकता खोज्न थालेपछि हाउजिङ कम्पनीमा घर खरिद गर्ने ग्राहकसमेत सशंकित बनेका छन् ।