काठमाडौँ : आगामी बिहीवार घरेलु मैदानमा शुरु हुने साफ महिला फुटबल च्याम्पियनशिपको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जनाएको छ।
यसै साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली महिला टोली सोमवार नै घोषणा भइसकेको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणबाट टोली घोषणा गरेका हुन्।
च्याम्पियनशिपमा सहभागी ७ राष्ट्रमध्ये भारत र भूटान बुधवार विहान आउनेछन्। पाकिस्तान, माल्दिभ्स, श्रीलंका र बंगलादेश भने नेपाल आइपुगिसकेका छन्।
एन्फाले टिकटको मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रूपैयाँ तोकेको छ। एन्फाका प्रवक्ता सुरेश शाहले नकआउट चरणका लागि भने साधारणतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ तय गरेको बताए।
उनले १० वर्षसम्मका बालबालिकालाई निःशुल्क प्रवेश दिइने बताए। मिश्रले १० वर्षभन्दा माथि उमेरका बालबालिकाका लागि भने टिकट लाग्ने स्पष्ट पारे।
आयोजक नेपालले भने कात्तिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानमा साफ च्याम्पियनशिपको शुरुआत गर्ने भएको छ।
हाल विदेशी लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीको टोलीमा समावेश नहुने चर्चा चलिरहेको थियो। एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले रेखा आइसकेको र सावित्रा दोस्रो खेलभन्दा एक दिनअगाडि नेपाल आउने बताएका छन्।
यस्तो अवस्थामा उनलाई दोस्रो खेल खेलाउने या नखेलाउने प्रशिक्षकमाथि नै भरपर्ने उनको भनाइ छ।
खेल प्रतिष्पर्धात्मक हुने दशरथ रंगशाला र अभ्यास गर्ने खेल मैदान पूर्णरूपमा तयार रहेको मिश्रले बताए। उनले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिलाई एन्फाले कुल ८० लाखमा टिकेटिङ राइट्स बिक्री गरेको बताएका छन्।
आगामी कात्तिक १ देखि १४ गतेसम्म नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनशिप हुँदै छ। यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले १/१ पल्ट यसको आयोजना गरेका छन्।































































