काठमाडौँ । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन् । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको हो ।
यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) विशेष छुटमा बिक्री गरिने जनाइएको छ ।
उक्त खाद्यान्नहरूमा प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।


























































