झापामा फेरी सयौ सदस्यलाई ठगीगरी एक सहकारीका सञ्चालक फरार भएका छन् । काठमाण्डौमा मुख्य कार्यालय भई झापाको बिर्तामोडमा कारोबार सञ्चालन गरिरहेको नेपाल सहकारी वित्तीय संस्थाले सयौ बचतकर्ताको लाखौं रकम फिर्ता नदिई कार्यालय बन्द गरेको छ ।


बिर्तामोडको भद्रपुर रोडमा शाखा कार्यालय सञ्चालन गरेको सहकारीले साउन १६ गतेदेखि बचत संकलन गर्न बन्द गरेको हो । सो सहकारी संस्थालाई साउन १० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको सो सहकारी सहकारीको ऐन, नियम, मुल्य, मान्यता विपरीत बचतकर्ताको रकम फिर्ता नगरेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । 


समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सोही ऐन बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको बताइएको छ । 


देशभर शाखा कार्यालय स्थापना गरेर कारोबार गरिरहेको सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा हजारौं बचतकर्ताहरुको बचत रकम जोखिममा परेको छ । बिर्तामोड–४ मा बिजुलीको सामान बिक्री गर्ने पसल सञ्चालन गर्दै आएकी राधा राजबंशीले घरभाडा तिर्न भनेर ३० हजार रुपैंयाँ बचत गरेकी थिइन् । बिनासुचना सहकारी बन्द भएपछि भाडा कसरी तिर्ने भनेर अन्यौल उत्पन्न भएको उनले बताइन् । 


यस्तै बिर्तामोडकै प्रतिमा राउतले पनि सो सहकारीमा रकम बचत गरेकी थिइन् । उनले बचत रकम फिर्ता लिन चेक लिएर जाँदा सहकारीमा ताल्चा लगाइरहेको देखेपछि त्यतिकै फर्किएको बताइन् । उनले सहकारीले सुचना नगरी बन्द हुँदा रकम फिर्ता हुनेमा आशंका उत्पन्न भएको जानकारी दिइन् । 


सहकारीको बिर्तामोड शाखामा व्यवस्थापक पदमा कार्यारत विकास अधिकारीले बिर्तामोड शाखाको हकमा रकम फिर्ता गर्न सहज रहेको बताए । ‘म पनि बिर्तामोडकै मान्छे हो, सहकारीमा केही समय काम गरेको हो, यहाँ रकम फिर्ता गर्न अप्ठ्यारो छैन, अधिकारीले भने–‘ लगभग ८ सय सदस्य रहेको सहकारीमा ऋण लगानी र बचतको अवस्था हेर्दा बचतकर्ता डराइहाल्नु पर्ने अवस्था देखिन्न ।’ उनले आफु अहिले काठमाण्डौमा रहेको जानकारी दिंदै समस्या समाधानका लागि मुख्य कार्यालयमा अनुरोध गरिरहेको बताए ।


कोशीमा मात्रै ८१ करोड अपचलन


कोशी प्रदेशका पाँच वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार पाँच वटा सहकारीको ८१ करोड २५ लाख रुपियाँ हिनामिना भएको छ । उहाँले इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकले ११ हजार बचतकर्ताको ६१ करोड रुपियाँ अपचलन गरेका बताए । उनका अनुसार २०८० मङ्सिरमा अम्बेकोशी सहकारीलाई समस्याग्रस्त घोषित गरिएका छ ।  रजिस्ट्रार खत्रीले खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुई हजार बचतकर्ताको १३ करोड रुपियाँ अपचलन गरेपछि २०८० असोजमा समस्याग्रस्त घोषणा गरेर कारबाही अघि बढाइएको बताए । उनका अनुसार ओखलढुङ्गाको ककनी गैरीवन कृषि सहकारी संस्था लिमिटेडका एक हजार एक सय बचतकर्ताको एक करोड २५ लाख रुपियाँ अपचलन भएको छ । 

उनले झापाको बुद्धशान्ति नगरपालिकाको जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक हजार बचतकर्ताको चार करोड रुपियाँ अनियमितता र अपचलन भएपछि बचतकर्ताको रकम फिर्ताका लागि कारबाही अघि बढाइएको बताए । झापाकै शुभ साइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट दुई हजार बचतकर्ताको दुई करोडभन्दा बढी बचत अनियमितता भएको छ । 


उजुरी पर्छ, कारबाही हुँदैन 


झापा बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अध्यक्ष दिपेन्द्र राउतले तीन करोड रुपियाँभन्दा बढी बचत रकम सहकारी ऐनविपरीत लगानी गरेको, पदाधिकारीलाई दुई वर्षसम्म बैठकमै सहभागी नगराएका सहित २०७८ मङ्सिर ३ गते कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा छानबिन गर्न उजुरी दिइयो । 


झन्डै अढाई वर्ष बित्दा पनि प्रभावकारी कारबाही भएको छैन । सहकारीका उजुरी दिने सदस्यका अनुसार आर्थिक अपचलनको विषय गुपचुप राख्न सञ्चालक समिति बैठक र साधारण सभामा पनि पदाधिकारीलाई रोक लगाइएको थियो ।  


रजिस्ट्रार खत्रीले उक्त सहकारीका अध्यक्ष राउतसहित विभिन्न २५ वटा सहकारीविरुद्ध उजुरी आएको बताए । उनले भने , “छानबिन र अनुसन्धान गरेका छौँ । बचतकर्ताको पैसा फिर्ता हुँदै छ । १७५ वटा सहकारीलाई जरिबाना गरिएको छ । पाँच सय वटा संस्था निगरानीमा छन् ।” 


उनका अनुसार कोशी प्रदेशमा एक हजार ८० वटा सहकारी प्रदेशमा दर्ता भएका छन् । उनले एक खर्ब ४५ अर्बभन्दा बढीको आर्थिक कारोबार ती सहकारीमार्फत भइरहेको बताए ।