अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण भाद्र ३ गतेदेखि सञ्चालन हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले मंगलबार फुङलिङस्थित सामुदायिक भवन (सिटी हल)मा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता आगामी भाद्र ३ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा करिब एक शातासम्म सञ्चालन हुने खेलमा जिल्लाका एक सहित प्रतिष्ठित आठ ओटा क्लबलाई समावेश गराईने समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा संघर्ष स्पोर्टिङ उकालीपानी ताप्लेजुङ, वाईवाई पाँचथर फुटबल क्लब, सगरमाथा स्पोर्टिङ क्बल मोरङ, सलहेश युथ क्बल सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र बुटवल लुम्बिनी एफसिले गोल्ड कपमा सहभागीता जनाउने भएका छन् ।
यस्तै झापाको टिम र भारतको टिमसँग समन्वय भईरहेको छ । ती क्षेत्रका अधिकांस टिमले गोल्डकपमा सहभागीत जनाउन ईच्छा देखाएकाले कसलाई खेलमा समावेश गराउने भन्नेबारे केही दिनपछि टुङगो लाग्ने समितिको भनाई छ ।
लाखेजात्रा पर्वको अवसरमा बि. सं. २०२९ सालदेखि औपचारिक रुपमा सुरु भएको प्रतियोगिता विभिन्न नाम संचालन हुदै आईरहेको छ । कोरोना संक्रमणका कारण ३ वर्षसम्म खेल स्थगित भएको थियो । त्यसपश्चात खेललाई ताप्लेजुङ गोल्ड कप नाम दिएर खेलाउन सुरु गरिएको छ ।
ताप्लेजुङ गोल्डकपको विजेताले प्राप्त गर्ने पुरस्कार राशि समेत वृद्धि गरिएको छ । समितिका अनुसार यसवर्षको विजेताले नगद ५ लाख ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । गत वर्षको तुलनामा बिजेतालको नगद राशी २ लाख ६१ हजार र उपबिजेताको १ लाख रुपैयाँ वृद्धि गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
त्यस्तै खेल अवधिभरका सर्वाेत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र कोचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत नगद ५ हजार रपैयाँ उपलब्ध गराउने समितिको भनाई छ ।
समितिले खेल अवलोकनकर्ताका लागि प्रवेश शुल्क समेत निर्धारण गरेको छ ।
क्वाटर फाईनल खेलका लागि रु १००, सेमिफाईनलका लागि २०० र फाईनल खेलका लागि २ सय ५० रुपैयाँ टिकर दर निर्धारण गरिएको छ ।
गत वर्ष टिकट बिक्रीबाट समितिले झण्डै १९ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष दर्शकले टिकट काटेर पनि ठाउँ अभाबका कारण प्याराफिटमा बसेर खेल हेर्न नपाएको गुनासोलाई सम्बोधन गर्न प्याराफिटको क्षमतालाई बढाउने तयारी रहेको छ । हरेक दिन टिकट काट्नेलाई गोलाप्रथाको माध्यमबाट मोबाईल सेट समेत उपलब्ध गराईने बताइएको छ ।