धुलाबारी । झापाकाे मेचीनगर-३ धरधरे टाेल स्थित सुकेनिन्दा खाेलाकाे किनारमा बिहीबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेकाे छ । 

अन्दाजी ९/१० बर्षको जस्ताे देखिने एउटा जंगली (भाले) हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । स्थानीयले आज बिहान खबर गरे पश्चात  प्रहरी टोलीले घटनास्थलमा गएर मुचुल्का उठाउन सुरु गरेकाे जनाएकाे छ । 

घटनाबारे अनुसन्धानको लागि डिभिजन वन कार्यालय, भद्रपुर र मेची सव-डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्चकर्मा सहितको टोलीले आवश्यक अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु बन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउदै गरेको उनले बताए । 

यसअघि बैशाख ४ गते झापाकाे मेचीनगरस्थित मागुरमाडीमा दुबै दारा काटिएकाे अवस्थामा एउटा वयस्क जंगली हात्ती मृत फेला परेकाे थियाे । गाेली हानेर मारिएकाे अवस्थामा साे हात्ती मृत फेला परेकाे जनाइएकाे छ । यो सँगै जिल्लामा २०६२ यता २१ वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ   ।