ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अरू काम शुरु भएको छ । संविधान सभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले हिजो संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।

अध्यक्ष लिम्बूले आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फुङलिङ नगरपालिका मेयर अमिर मादेनले आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्नुभयो ।

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।