झापा – भद्रपुर नगरपालिका–३ पृथ्वीनगरमा महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

पुरातत्त्व विभागको टोलीले उत्खनन गरेपछि त्यसको पुष्टि भएको हो । पुरातत्त्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, पश्चिम दक्षिणमा अर्को बहुतले भवन फेला परेको जानकारी दिनुभयो ।

उहाँले चार वटै भवनको दक्षिणमा झन्डै दुई सय फिटको दूरीमा दुई तले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताउनुभयो । पुरातत्त्वविद् आचार्यले मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने जानकारी दिनुभयो । अझ गहिराइसम्म उत्खनन गर्दा बुद्धकालभन्दा अगाडिसम्म जान सक्ने सङ्केत पाइएको उहाँको भनाइ छ ।

आचार्यले अहिले उत्खनन गरिएको क्षेत्रमा रुख भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र गाडीको प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पुरातत्त्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो । यो उत्खनन पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यस पटकको उत्खनन सातौँ हो ।