बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारदेखि छैटौं झापा गोल्डकप सुरु भएको छ । डोमालाल राजबंशी रंगशालामा सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।
भूमाफियाको आँखा परेको डोमालाल राजबंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताए । उनले एक बर्षभित्र कानुनी अप्ठ्याराहरु भए संसोधन गरेर भएपनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले बिश्वका कतिपय राष्ट्र खेलकुदकै कारण आर्थिक रुपमा मजबुत भएको बताए । राष्ट्रिय एकताका लागि खेलकुद मात्र बलियो साधन भएको बस्नेतले बताए । उनले आर्थिक संकटका बाबजुत पनि यति ठुलो प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने दाताहरुलाई हार्दिक धन्यवाद दिए । खेलकुद मनोरञ्जनमात्र नभएर समाजलाई एकताबद्ध बनाउने कसी भएको उनको भनाई छ ।  
जमिन बिवादका कारण रंगशाला निर्माण नभइरहेको समयमा बस्नेतले समामुखलाई बिवाद समाधान गरेर जमिन फिर्ता ल्याउन आग्रह गरे । उनले बिर्तामोडमा रंगशाला अति आवश्यक रहेको भन्दै जमिन अभावमा त्यो आवश्यकता पुरा गर्न नसकिएको बताए ।
प्रतियोगिता सुरु हुनुअघि बिविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौं दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए ।  कार्यक्रममा लिम्बु जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इष्ट होराइजन स्कुलका बिद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई बेहुली झैं सिंगारिएको छ । बिर्तामोडदेखि बिर्ताबजारस्थित रंगशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ । मुक्तिचोकको पुर्व–पश्चिम राजममार्गमाथि लुङता टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताको महसुस गर्ने छ ।
कार्यक्रममा जग्गादाता डोमालाल राजबंशीका नाती भिम राजबंशीलाई नगद १ लाख रुपैंयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैंयाँ प्रदान गरेको थियो ।