काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । अनिल साह र भिम सार्कीको सतकीय इनिङ्समा नेपालले क्यानडाविरुद्ध शानदार जित निकालेको हो ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

नेपालका लागि अनिल साहले १ सय १२ र भिमले १ सय १ रनको नटआउट इनिङ्स खेले । कुशल भुर्तेल १३ रनमा आउट भएपछि नेपालको इनिङ्स अनिल र भिमले सम्हालेका थिए । 

क्यानडाका डिलेन हेईलिगरले एक विकेट लिए ।  

सोमबार कीर्तिपुर मैदानमा डेब्यु खेलमा हेमन्त धामीले ३ विकेट लिएपछि नेपालले क्यानडालाई मध्यम स्कोरमा समेटेको थियो । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

क्यानडाको इनिङ्समा नवनीत धालीवालले अर्धशतक बनाए । निखिल दत्तले ४५ रन बनाएको इनिङ्समा शद बिन जाफरले नटआउट ३१ रन बनाए । हर्श ठाकरले २९, श्रेयस मोभाले २५, श्रीमंथा विजयरत्नेले २२ रन बनाए । 

नेपालका हेमन्त धामीले ३ विकेट लिए । कुशल मल्लले २ तथा आकाश चन्द र ललित राजवंशीले समान एक एक विकेट हात पारे । 

नेपालले तीन म्याचको एकदिवसीय सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको थियो ।