तुलसी सिटौला (आठराई)

गत असार २ गते शनिबार वर्षा सँगै आएको बाढिले  पाँचथर र तेह्रथुम जोड्ने माझिटार स्थित तमोर नदीको पक्की पूलको तेह्रथुम तर्फको पिलर नदिले कटान गरी क्षति हुन सक्ने देखिएको छ । यस विषयमा पूर्वसावधानी अपनाउने सन्दर्भमा आइतबार तेह्रथुमका प्रमुख जिल्ला अधिकारी कृष्ण कडेलको संयोजकत्वमा स्थलगत रुपमा अनुगमन गरी सोही स्थानमा  बैठक बसी निर्णय समेत गरेको  छ ।

बाढीले हिवा खोलाका धेरै पक्की पुल बगाएको थियो भने ठुलो मात्रामा जन धनको क्षति समेत भएको थियो ।हिवा खोला र तमोर नदीको संगम स्थल नजिकै रहेको पुलको तेह्रथुम तर्फको पिलर नजिकसम्म कटान गरेको साथै सक्रान्तिबजार तर्फ जाने पक्की सडक समेत क्षति हुने सम्भावना उच्च रहेको छ ।

 सोही कुरालाई पूर्वसावधानी नअपनाएमा आगामी वर्षातको समयमा पूल र सडक क्षति हुने देखिएकोले क्षति हुन नदिन डिभिजन सडक कार्यालय धनकुटा र मध्य पहाडी राजमार्ग आयोजना पाँचथरले आ-आफ्नो जिम्मेवारी बमोजिम आगामी वर्षातको समय सुरु हुनु अगावै आवश्यक काम गरी सडक तथा पुल सुरक्षित राख्न सिडिओले निर्देशन दिनु भएको आठराई गाउपालिका अध्यक्ष दिल कुमार पाहिमले  जानकारी दिनुभयो । 

 स्थलगत अनुगमनमा तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण  पौडेल, आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम,वडा नं १ का  वजाध्यक्ष प्रेमराज फोम्बो, वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बास्कोटा,  ७ नम्बर वडा अध्यक्ष रोहित कन्दङ्वा  नेपाली कांग्रेस महाधिवेशन  प्रतिनिधि भीष्म थपलिया,नेकपा एमाले आठराई गाउँपालिका अध्यक्ष प्रेम पौडेल,  सुरक्षा निकायका  प्रमुख एवम् प्रतिनिधि र  सडक विभाग र मध्यपहाडी सडकका  ईन्जिनियरहरू सहित अनुगमन गरिएको थियो ।