काठमाडौं पछिल्लो दुई दिनमा मात्र देशभर सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाए। शुक्रबार राति दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा १२ जनाको मृत्यु भयो। शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भयो। यस्तै, झापामा मोटरसाइकल दुर्घटनामा शनिबार दुई जनाको ज्यान गएको छ। पर्सा, रौतहट, बर्दियामा पनि सवारी दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो।
यसरी दुई दिनमा देशभर २४ जनाले ज्यान गुमाउनुले देशको सडक एकदमै जोखिमपूर्ण अवस्थामा रहेको देखाउँछ। एकातिर सडकमा दुर्घटनामा ठूलो मानवीय क्षति हेर्दा सरकारले सडक सुरक्षासम्बन्धी गम्भीर हुनुपर्ने बेला आएको देखाउँछ।
भयावह तथ्यांक
यो वर्षको मंसिरसम्म मात्र देशभर सानाठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता दानबहादुर कार्की बताउँछन्। जसमा ९ सय १६ जनाले ज्यान गुमाएका छन् भने २ हजार ७ सय ९१ जना गम्भीर घाइते भएको कार्कीले जानकारी दिए।
दुर्घटनामा ११ हजार ९१ जना साधारण घाइते भएका छन्। सबैभन्दा बढी काठमाडौं उपत्यकामा दुर्घटनाका घटना भएका छन्। यो वर्ष मात्र ४ हजार ७ सय ५२ वटा घटना उपत्यकामा भएका छन्। जसमा ६६ जनाले ज्यान गुमाएका छन्।
तीन वर्षमा ५८ हजार दुर्घटना, ६ हजारभन्दा बढीको मृत्यु
नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार दैनिक ५४ वटा दुर्घटना हुन्छन् भने दैनिक ६ जनाको मृत्यु हुने गरेको छ। १४ जना गम्भीर घाइते हुने गरेका छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना भएका छन् भने यी दुर्घटनामा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन्। यो तीन वर्षमा सवारी दुर्घटनामा १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।



























































