विर्तामोड, । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा १८ औं दिनमा पूरा गर्नुभएको छ ।
झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा–उत्तोलन गरी गर्नुभएको हो । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरणसमेत गर्नुभयो ।
उहाँले यात्रामा सहभागी लाखौं नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो । उहाँले संचारमाध्यमहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले लेखक, विचारक र टिप्पणीकारहरुलाई समेत धन्यवाद दिनुभयो ।
झण्डोत्तोलनपछि सङ्कल्प यात्राबारे बोल्दै अध्यक्ष ओलीले राजनीतिक हिसाबले निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गर्नुभयो । अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताउनुभयो ।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताउनुभयो ।
एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताउनुभयो ।































































