तुलसी सिटौला  तेह्रथुम आठराई 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई उहाँको जन्म थलो तेह्रथुमको आठराईमा शुक्रवार  भव्य स्वागत गरिएको छ। आठराई बासी तथा नेकपा एमाले आठराई गाउँपालिका कमिटीले ओलीलाई स्वागत गरेका हुन्। आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम,उपाध्यक्ष वालिराज इङ्नाम लगाएत वडाध्यक्षहरुले ढाका टोपी सहित फुल मालाले स्वागत गर्नुभएको थियो ।  मध्य पहाडी पुष्पलाल लोक मार्ग झुलाघाट - चिवाभनज्याङ समृद्धिका लागि संकल्प यात्रा महाअभियानको क्रममा ओली १६औँ दिनमा आठराई आइपुग्नु भएको हो।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले आठराई  शैक्षिक क्षेत्रको उर्वर भुमि रहेको र न्यायका पक्षमा,लोकतन्त्रका पक्षमा साथै यो ठाउँ  सधै जनताको पक्षमा रहेको बताउँनु भयो।  जनता अलमलमा पर्न नपाउन,मजबुत रास्ट्रिय शक्ति बिना देशको भविष्य सुन्दर र सुरक्षित हुन नसक्ने र देशको भविष्य सुन्दर र सुरक्षित बनाउनका लागि नेकपा एमाले अग्रसर भएको उहाँको भनाइ छ । 

आठराईको केन्द्र सक्रान्ति बजार स्थित फाल्गुनन्द चोकमा आयोजना गरिएको स्वागत कार्यक्रममा आठराई बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। अध्यक्ष ओली संगै उपाध्यक्षहरु इश्वर पोख्रेल,बिष्णु पौडेल,सुरेन्द्र पाण्डे,अष्ट लक्ष्मी शाक्य महासचिव शंकर पोख्रेल,उपमहसचिव प्रदिप ज्ञवाली लगायतको टीम आठराई आइपुगेको हो। आजको रात ओलीले आफ्नो  जन्मघर आठराई ४ इवामा  बिताउनु हुने छ। ओलीको सुरक्षाका लागी  हजार माथि सुरक्षाकर्मी आठराईमा खटाईएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा स्कटिङमा ओली दिउसो ३ बजे आठराई आइ पुग्नु भएको थियो। 

 अध्यक्ष ओलीले भोलि पाँचथरको फिदिममा हुने आम सभाको सम्बोधन गर्नु हुने र पर्सी मध्य पहाडी राजमार्गको शुरुवाती बिन्दु पाँचथरको चिवाभनज्याङ पुगी संकल्प यात्रा पुरा गर्ने कार्यक्रम रहेको नेकपा एमाले तेह्रथुम जिल्ला अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिनु भयो।