काठमाडौँ । १३ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खचाखच भरिएका एक लाख ३० हजारभन्दा बढी समर्थक निराश बने । तेस्रोपटक एकदिवसीय विश्वकपको उपाधि जित्ने आशामा रहेका करोडौँ भारतीय समर्थकको विश्वासमा तुषारापात गर्दै अस्ट्रेलियाले कीर्तिमान रुपमा छैटौँ पटक उपाधि चुमेको हो ।टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गरेको हो ।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले सतकीय पाली खेले । उनले टोलीको जितमा अविजित एक सय ३७ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान हेडले एक सय २० बलको सामना गरी चार छक्का र १५ चौका प्रहार गरे ।त्यसअघि ओपनर ब्याट्सम्यान डेभिड वार्नर सात रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मिचेल मार्स पनि १५ रन बनाउँदै आउट भएका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान स्टिभन स्मिथ पनि चार रनको ब्यक्तिगत स्कोरमै आउट भए । तर, पाँचौँ नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे । टोलीको जितमा महत्वपूर्ण योगदान गरेका उनले एक सय १० बलको सामना गरी चार चौका हिर्काएका थिए ।
ब्याट्सम्यानजस्तै भारतीय टोलीका बलरहरु पनि निरिह सावित भए । जसिप्रित बुमहारले दुई विकेट लिए । मोहम्मद सामी र मोहम्मद सिराजले एक—एक विकेट लिए । अस्ट्रेलियाले अतिरिक्त रुपमा १८ रन पायो ।
त्यसअघि अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले निराशाजनक सुरुआत गरेको थियो । भारतले टोलीको कुल स्कोर एक सय रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि भारतीय टोली दबाबमा परेको थियो ।
भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई केवल चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । गिललाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडद्वारा क्याच गराएका थिए । गिल आउट हुँदा भारतले ४.२ ओभरमा ३० रन बनाएको थियो ।
त्यसपछि भारतीय टोलीका कप्तान रोहित शर्मा ४७ रन बनाउँदै आउट भएका थिए । उनले ३१ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । रोहितलाई मिचेल स्टार्कले एडम जाम्पाद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा रोहित आउट हुँदा भारतले ७६ रन बनाएको थियो ।
त्यसलगत्तै भारतका अर्का ब्याट्सम्यान श्रेयस ऐयर पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका क्रिज समाल्न आएका ऐयरलाई प्याट कुमिन्सले चार रनको व्यक्तिगत स्कोरमा जोस इङ्लिसद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा ऐयर आउट हुँदा भारतले ८१ रन बनाएको थियो ।
त्यसपछि अनुभवी ब्याट्सम्यान विराट कोहली र केएल राहुलले भारतको पालीलाई सम्हालेका थिए । कोहलीले चौथो विकेटका रुपमा पेभेलियन फर्किनुअघि अर्धसतक बनाएका थिए । उनले टोलीको खातामा ५४ रन थपेका थिए । उनले ६३ बलमा चार चौका प्रहार गरे ।
कोहलीलाई अस्ट्रेलियन बलर प्याट कुमिन्सले बोल्ड गरेका थिए । कुमिन्सले फालेको बल कोहलीको ब्याटमा ठोक्किएर विकेटमा लागेको थियो । २८.३ ओभरमा कोहली आउट हुँदा भारतले एक सय ४८ रन बनाएको थियो ।
त्यसलगत्तै रविन्द्र जडेजा पनि भेलियन फर्किएका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका जडेजा नौ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । केवल २२ बलको सामना गरेका जडेजालाई जोस हेजलउडले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा भारतले ३५.५ ओभरमा एक सय ७८ रन बनाएको थियो ।
त्यसपछि छैटौँ विकेटका रुपमा केएल राहुल अर्धसतक बनाउँदै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान राहुलले टोलीको खातामा ६६ रनको योगदान गरेका थिए । लामो समय क्रिजमा सँघर्ष गरेका उनले एक सय सात बलको सामना गरी केवल एक चौका हिर्काएका थिए ।
राहुललाई अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । फाइनल खेलमा विकेटकिपर इङ्लिसले लिएको यो तेस्रो क्याच थियो । राहुल आउट हुँदा भारतीय टोलीले ४१.३ ओभरमा दुई सय तीन रन बनाएको थियो ।
भारतले सातौँ विकेटका रुपमा मोहम्मद सामीलाई गुमाएको थियो । उनी ६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् । उनले १० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए ।
उनलाई पनि अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो चौथो क्याच थियो ।
स्टार्कले लिएको भने यो तेस्रो विकेट थियो । सामी आउट हुँदा भारतले ४३.४ ओभरमा दुई सय ११ रन बनाएको थियो ।
यसैगरी आठौँ विकेटका रुपमा जसप्रित बुमराहलाई गुमाएको थियो । उनले केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । एडम जाम्पाले उनलाई एलबीडब्लूको धरापमा पारेका थिए ।
४४.५ ओभरमा उनी आउट हुँदा भारतले दुई सय १४ रन बनाएको थियो । फाइनमा जाम्पाले लिएको यो पहिलो विकेट थियो ।
भारतले नवौँ विकेटका रुपमा सूर्यकुमार यादवलाई गुमाएको थियो । उनी २८ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् ।
उनलाई अस्ट्रेलियन बलर हेजलउडले इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो पाँचौँ क्याच थियो ।
हेजलउडले लिएको भने यो दोस्रो विकेट थियो । उनी आउट हुँदा भारतले ४७.३ ओभरमा दुई सय २६ रन बनाएको थियो ।
भारतका कुलदिप यादबले १० रन र मोहम्मद सिराजले अविजित नौ रन बनाए । कुलदिप यादव अन्तिम ओभरको अन्तिम बलमा रन आउट भएका थिए ।
तीन विकेट लिने क्रममा अस्ट्रेलियन बलर स्टार्कले १० ओभर बलिङ गर्दै ५५ रन खर्चिएका थिए । दुई विकेट लिने क्रममा कुमिन्सले १० ओभरमा केवल ३४ रन खर्चिएका थिए ।
दुई विकेट लिएका हेजलउडले १० ओभरमा ६० रन दिएका थिए । यसैगरी एक विकेट लिएका ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिएका थिए ।
एक विकेट लिएका एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चिएका थिए । भारतले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो ।



























































