काठमाण्डु  ।।  गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा २८ जनाको मृत्यु  पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २८ जनाको मृत्यु छ भने ५० बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश  प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

उनले भने, ‘ भूकम्प गएको थाहा पाउनासाथ हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्दार टोली  खटाइसकेका छौं।  रातिको समय भएकाले सबै घरमा सुतेका हुन्छन् । भत्किएको घरमा पुरिएकाहरुको उद्दारका लागि हाम्रा साथीहरु परिचालन भइसक्नुभएको छ ।’

रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।  राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  बताए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।